जनकपुरधाम – धनुषामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका–५ बनरझुलाका १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र रहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार कमला नगरपालिका–२ माची र लगमाबीचको खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा पछाडि सवार १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन् । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।



विहीबार राति साढे १० बजेतिर भारतीय नम्बर प्लेटको हिरो स्प्लेण्डर मोटरसाइकलमा लगमा बजारमा चलिरहेको झिझिया नाच हेर्न जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




