महोत्तरी – सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ।
मृतकहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६ निवासी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।



बुधवार बिहान करिब ९:२० बजे उनीहरू माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो।
यो पनि पढ्नुहोस : सर्लाहीमा माटो खन्ने क्रममा ढिस्को खस्दा महोत्तरीका ४ जना गम्भीर घाइते
तर, अस्पतालले पौने ११ बजे नै चारै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए।
प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी हरिपुर्वाबाट करिब अढाई किलोमिटर पूर्वतर्फ पर्छ। थप अनुसन्धानका लागि इन्स्पेक्टर सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।




