महोत्तरी - जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।
सर्लाही जिल्ला अदालत मलङ्गवामा शुक्रबार उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार यादवविरुद्ध दायर राजद्रोह मुद्दामा एक लाख रुपैयाँ र सार्वजनिक सेवा अवरोध तथा आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी जम्मा एक लाख ६० हजार रुपैयाँ धरौटी निर्धारण गरिएको हो ।
गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालिगलौजसम्बन्धी टेलिफोन संवाद सार्वजनिक भएपछि भदौ २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा रहेका क्रममा आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्नका लागि प्रहरीले अस्थायी रूपमा छाडेको थियो । काजकिरिया सकेर यादव बिहीबार स्वयं अदालतमा उपस्थित भएका थिए ।
रिहा भएपछि यादवले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् । उनले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा उल्टै राज्यले आफ्ना विरुद्ध मुद्दा दायर गरेको आरोप समेत लगाए ।
सर्लाहीको प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता र रातभर काम भएको विषयमा विवाद भएपछि सो घटनाक्रम सार्वजनिक भएको बताइएको छ ।




