बर्दिवास । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहनुभएका शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो।
लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत उनी दर्शक तथा श्रोतामाझ लोकप्रिय छन्।



यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ।त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, द्वितीय उपाध्यक्षमा राजु ढकाल, महासचिवमा शिव हमाल, कोषाध्यक्षमा जुना श्रीष मगर र सहकोषाध्यक्षमा सम्झना भण्डारी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभएको छ।
प्रतिष्ठानको केन्द्रीय समितिमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय समिति रहने व्यवस्था छ। महाधिवेशनअन्तर्गत बर्दिबासका समाजसेवी तथा उद्योगी कृष्णप्रसाद गौतम सचिव पदमा सर्वसम्मत हुनुभएको छ। गौतम रोटरी क्लब अफ बर्दिबासका अध्यक्षसमेत रहिसक्नुभएको छ। उहाँ सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आउनुभएको छ।
शीर्ष नेतृत्व निर्विरोध चयन भएसँगै अब अन्य उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव तथा केन्द्रीय सदस्य पदको निर्वाचनमा ध्यान केन्द्रित भएको छ। ती पदहरूमा प्रतिस्पर्धा रहेकाले महाधिवेशनस्थल बर्दिबासमा चुनावी माहोल तातेको छ।
प्रतिष्ठानको बृहत्तर हित, आपसी सद्भाव र संस्थागत एकताका लागि उम्मेदवारी फिर्ता लिने आकांक्षीहरूको निर्णयसँगै शीर्ष नेतृत्व चयनको प्रक्रिया सहमतिमा टुंगिएको हो। बाँकी पदहरूको निर्वाचनपछि प्रतिष्ठानको नयाँ कार्यसमितिले पूर्णता पाउनेछ।
प्रतिष्ठानको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन रामआशीष यादवले गर्नुभएको थियो। उद्घाटनसत्र सम्पन्न भएसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो।
महाधिवेशनमा सातै प्रदेश, ७० जिल्ला तथा विदेशस्थित शाखासहित १०० वटा समितिबाट करिब एक हजार ५०० प्रतिनिधि सहभागी भएका छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढाइएको थियो।
निर्वाचन समितिका अनुसार मतदानको परिणाम शनिबार महाधिवेशनको समापन कार्यक्रममा घोषणा गरिनेछ। महाधिवेशनले प्रतिष्ठानको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।





