जनकपुरधाम । तराई मधेसवासीकाे प्रमुख चाड चार दिवसीय छठ पर्वको दोस्रो दिन आज खरना विधि गरिँ मनाइदैछ। जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
शनिवारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय-खाए’ गरिएको थियो।
छठको दोस्रो दिन आज दिनभर उपवास बसी राति खीर बनाई देउतालाई चढाएर व्रतालुहरू खान्छन्, यस विधिलाई ‘खरना’ भनिन्छ।
आज दिनभर निराहार बस्दै राति चन्द्रदर्शन गरेपछि बर्तालुले माटोको चुल्होमा सक्खर, दूध, र धानको चामल मिलाएर पकाइएको खिर छठी मातालाई चढाउनेछन्। यस खिरलाई प्रसादको रूपमा बर्तालु र परिवारका सदस्यले ग्रहण गर्ने परम्परा छ।
खरना पछि बर्तालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्नेछन्। भोलि अर्थात कात्तिक शुक्ल षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई जलाशयमा पुगेर ‘साँझको अघ्र्य’ दिने चलन छ। यो विधिलाई सँझिया घाट भनिन्छ। छठको चौथो र अन्तिम दिन सप्तमी तिथिमा उदाउँदो सूर्यलाई ‘बिहानी अघ्र्य’ दिइनेछ।यसलाई पारन पनि भनिन्छ ।
सूर्यदेवलाई ठकुवा, भुसुवा, र केरा सहितका प्रसाद चढाइने परम्परा रहेको छ। यस पर्वमा छठका विशेष परिकार ठकुवा र भुसुवा पिठोबाटै तयार गरिन्छन्। घाटमा विशेष सरसफाइ गरी अघ्र्य दिने तयारी गरिन्छ, जसले यो पर्वको पवित्रता झल्काउँछ। छठको महत्व अब मधेश र पहाड दुवैतिर विस्तार हुँदै आएको छ। इस्लाम धर्मावलम्बी समेत यो पर्वमा सहभागी जनाउन थालेका छन्।
छठका लागि घाटको सरसजावट अन्तिम चरणमा पुगेको छ। स्थानीयहरू पोखरी, नदी, कुवा लगायतका स्थानलाई झकिझकाउ बनाउँदैछन्। घाट निर्माण तथा टेन्ट लगाउने काम सम्पन्न भइसकेको छ भने अहिले झिलिमिली बत्ती लगाउने काम जारी रहेको छ।
जनकपुरधाममा गंगासागर, दशरथ तलाउ, अरगजा सर लगायत दर्जनौँ पोखरीमा छठ पर्व मनाइने गरिन्छ।
छठ पर्व घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायतको व्यवस्था गरेर त्यसलाई धोई पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पीठोबाट छठका सामग्रीहरू बनाइने गरिन्छ।
छठ पर्वको महत्त्वपूर्ण पक्ष भनेकै शुद्धता, समर्पण र निष्ठा हो। मिथिला संस्कृतिका जानकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले छठमा चढाइने वस्तुको शुद्धता नै यस पर्वलाई अन्य पर्वभन्दा फरक तुल्याएको बताउनुहुन्छ।
यस पर्वमा सामान्य रुपमा नभै पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुखाएर, पिधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्षले नै यस पर्वलाई अन्य पर्वभन्दा फरक बनाएको कापडीले स्पष्ट पार्नुभयो ।
छठ पर्वका लागि अहिले बजारमा चहलपहल बढेको छ। बजारमा बाँस र माटोबाट बनेका सामग्रीहरूको जताततै बिक्री भइरहेको छ।
छठ पर्वमा माटोबाट बनेका घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपति लगायतको सामग्री प्रयोग हुन्छ।
विविध धर्म, संस्कृति, र समुदायलाई एकतामा बाँध्दै गएको यो पर्व लोकसंस्कृतिको अभिन्न अंग बनेको समाजशास्त्री मिथिलेस झाको कथन छ।




