काठमाडौं – काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट हटाइ होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ।
इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा, होल्डिङ सेन्टरमा गरिएको अनुगमनका क्रममा नागरिकहरूको बसोबास, सरसफाइ, स्वास्थ्य सेवा, सफा खानेपानी तथा पर्याप्त खानाको अभाव रहेको तथ्य फेला परेको उल्लेख गरिएको छ।




विज्ञप्तिमा बलपूर्वक विस्थापनबाट प्रभावित समुदायको आवासको अधिकार, रोजगारी तथा जीविकोपार्जनको स्रोत, बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँचमा प्रत्यक्ष असर परेको जनाइएको छ। साथै, घर तथा आश्रय गुमाउनु केवल भौतिक क्षति मात्र नभई व्यक्तिको सामाजिक सञ्जाल, सुरक्षा भावना र मानवीय गरिमामा समेत गहिरो असर पार्ने विषय भएको उल्लेख गरिएको छ।

सुकुम्बासी समस्याको न्यायोचित समाधानका लागि स्पष्ट नीति, कानुनी आधार र संस्थागत संयन्त्र विकास गर्नुपर्नेमा जोड दिइएको छ। साथै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिँदै उनीहरूको अधिकार, सुरक्षा र आवश्यकताको सम्बोधन सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।







