जनकपुरधाम- भारतका विभिन्न राज्यमा जोखिमपूर्ण र अमानवीय काममा संलग्न गराइएका १६ जना नेपाली बालबालिकाहरूलाई उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । उद्धार गरिएका ती बालबालिकाहरू मधेश प्रदेशका विभिन्न जिल्लाका हुन् ।
भारतको मुम्बई, दिल्ली र बिहारमा वेतनविहीन श्रम, जबर्जस्ती काम र अन्य जोखिमपूर्ण कार्यमा संलग्न गराइएका ती बालबालिकाहरूलाई भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेको हो । सबै कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरी मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा अभिभावकहरूलाई जिम्मा लगाइएको छ ।
राष्ट्रिय बालअधिकार परिषद् मधेश प्रदेशका समन्वय अधिकृत सञ्जीव कुमार महतोका अनुसार उद्धार गरिएका बालबालिकाहरू ९ देखि १७ वर्ष उमेर समूहका हुन् । ती बालबालिकाहरू मधेश प्रदेशका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन् ।
महोत्तरीको जलेश्वर नगरपालिका–६ का विकास कुमार महतो (१४), कृष्ण सदा (१७), रवि सदा (१४), विकास सदा (१२), विवेक सदा (१२) र सम्सी गाउँपालिका–६ का रवि ठाकुर (९) रहेका छन् ।
त्यस्तै, धनुषाको शहीदनगर नगरपालिका–१ का विवेक सदा (१२), करण सदा (१३), धनुषाधाम नगरपालिका–११ का रोहित सदा (१२) र सुरत कुमार सदा (१२) रहेका छन् ।
रौतहटका मुगले आजम (१५), सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का जीत कुमार पण्डित (१४), सिरहाका समीर कुमार भुजेल (१४) र सौगात बयलकोटी (१२) समेत उद्धार भएका बालक हुन् ।
त्यस्तै, भारतमा जबर्जस्ती यौन कार्यमा संलग्न गराइएका सप्तरीकी १५ र १६ वर्षकी दुई बालिकालाई पनि किन इन्डियाले भारतीय प्रहरीको सहकार्यमा उद्धार गरेको छ । संस्थाका अध्यक्ष नवीन जोशीका अनुसार ती बालिकाहरूलाई बालकल्याण समिति र बालबालिका खोज उद्धार केन्द्र जनकपुरधाममार्फत अभिभावकको जिम्मा लगाइएको हो ।
सो अवसरमा अध्यक्ष जोशीले मधेश प्रदेशका बालबालिकाहरू ठूलो संख्यामा भारतमा स्क्रिन उद्योग, अंग बेचबिखन र यौन शोषणमा फस्ने जोखिममा रहेको बताउँदै प्रदेशभर सचेतना अभियान चलाउन जरुरी रहेको बताए ।
उनका अनुसार उद्धार भएका बालबालिकाहरूलाई रोटरी क्लब लुम्बिनीको सहयोगमा जनकपुरधाम ल्याएर पुनर्मिलन गराउने कार्य सम्पन्न गरिएको हो ।
मधेश प्रदेश सरकारका निमित्त सचिव रञ्जित कुमार यादवले उद्धार गरिएका बालबालिकाको शिक्षा, मनोसामाजिक सल्लाह र सिपमूलक तालिममार्फत पुनःस्थापनाको योजना अघि सारिएको बताए ।
उनले भने, ‘प्रदेश सरकारले यस्ता बालबालिकाका लागि दीर्घकालीन पुनस्र्थापना केन्द्र स्थापना र प्रत्येक जिल्लामा सेफ हाउस निर्माणको प्रक्रिया अघि बढाएको छ ।’
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव प्रेम उपाध्याय, समाजसेवी निर्मल कुमार चौधरी, धनुषाका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बम, रोटरी क्लब लुम्बिनीका पदाधिकारीहरू र सञ्चारकर्मीहरूको पनि सहभागिता थियो ।




