जनकपुरधाम- मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि आयोजित सामाचकेवा महोत्सव २०८२ जनकपुरधाममा सम्पन्न भएको छ ।
जानकी मन्दिरको प्राङ्गणमा आइतबार भएको महोत्सवमा देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट आएका १४ टिमका महिलाहरूले सहभागिता जनाएका थिए ।
मैथिली विकास कोषले आयोजना गरेको सामाचकेवा महोत्सवले पुरानो सांस्कृतिक परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य राखेको छ । महोत्सवमा सहभागी विभिन्न टोल र समूहका महिलाहरूले सामा गीत प्रस्तुत गर्दै परम्परागत नृत्य र गीतमार्फत सांस्कृतिक रंग सजाएका थिए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले महोत्सवको महत्वबारे भने, ‘सामा निर्माण र खेल्ने पुरानो परम्परा क्रमशः हराउँदै गएको छ । नयाँ पुस्तालाई यसको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको हो । सामाचकेवा केवल पर्व मात्र नभइ यो मिथिला संस्कृतिको अमूल्य धरोहर हो । हामी चाहन्छौं कि यसलाई सबैले मनाउन र बुझ्न सकून् ।’
महोत्सवको समयमा साँझपख दियो र माटाका पुत्लाहरूको उज्यालोमा गाउँ–टोलमा गुञ्जिने सामा गीतहरूले समग्र वातावरण रमाइलो र उत्साहपूर्ण बनाएको थियो । स्थानीय बासिन्दाहरूले पनि उत्साहका साथ सहभागी महिला टोलीलाई स्वागत गरी गीत तथा नृत्यको आनन्द लिए ।
सामाचकेवा पर्व मिथिलाञ्चलका गाउँहरूमा दशकौंदेखि मनाइँदै आएको परम्परा हो । यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई सुदृढ बनाउने मात्र नभई समाजमा सहकार्य, ममता र परम्परागत मूल्यको संरक्षणमा पनि योगदान पुर्याउँछ । महोत्सवले परम्परागत सांस्कृतिक धरोहरलाई जीवित राख्ने प्रयासका रूपमा चिनिएको छ ।
चौधरीका अनुसार महोत्सवले समुदायमा महिलाहरूलाई सशक्त बनाउने, सांस्कृतिक चेतना फैलाउने र युवा पुस्तालाई मिथिला संस्कृतिसँग जोड्ने अवसर प्रदान गरेको छ । उनले थपे, ‘सामाचकेवा महोत्सवको माध्यमबाट हामीले केवल नृत्य र गीत मात्र नभई मिथिला संस्कृतिको आत्मा, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धलाई पनि जोगाउने प्रयास गरिरहेका छौं ।’
महोत्सवले मिथिलाञ्चलका विभिन्न गाउँहरूमा सांस्कृतिक पर्वको महत्व र उल्लास फैलाउने काम गरेको छ भने उपस्थित बासिन्दाहरूले पनि साँझपख सामा गीत गाउने र परम्परागत रीतिरिवाजको आनन्द लिने अवसर पाएका छन् । यस प्रकारको कार्यक्रमले स्थानीय सांस्कृतिक धरोहरलाई जीवित राख्दै नयाँ पुस्तासम्म पुर्याउने काम गरिरहेको छ ।











