महेन्द्रनगर- असक्षम नेतृत्वको कारण क्षीरेश्वरनाथ नगरपालिकामा अहिलेसम्म बजेट पास हुन सकेको छैन ।
बजेट पास हुन नसक्दा कर्मचारीहरुले दसै, तिहार र छठ जस्ता चाड पर्वमा समेत तलब पाउन सकेनन् ।
आर्थिक वर्ष सुरु भएको चार महिना बित्दा समेत नगरपरिषदबाट बजेट पारित नहुँदा नगरपालिकाको कामकाज ठप्प भएको हो।
स्थानीयले नगरपालिकाको नेतृत्वकर्ताको असक्षमताले गर्दा बल्ल बल्ल असोज २८ गते उद्घाटन गरिएको नगरसभा अहिलेसम्म पनि निष्कर्षमा पुग्न नसकेको आरोप लगाएका छन् ।
यता नगरसभा सम्पन्न नहुँदा बजेट परिचालन नहुने भएपछि नगरको सबै विकासको कामकाज देखि महत्वपूर्ण योजनाहरु ठप्प अवस्थामा रहेको छ।
नगरसभामार्फत बजेट पारित नहुँदा कामबारे अन्योल भएको कर्मचारीहरु बताउँछन् ,
‘नगर परिषद्बाट बजेट पास भएपछि मात्र स्थानीय सरकारका कामकाज अगाडि बढ्छन्, सामान्य प्रशासनिक कामकाज बाहेक अन्य सबै काम ठप्प छन् । नगर परिषद् नहुँदा अधिकांश काम प्रभावित भएको छ ।’
विभिन्न पूर्वाधार विकास, कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायत शाखाका कामकाजहरु प्रभावकारी रुपमा संचालन हुन सकेको छैन। जनप्रतिनिधि बीच सहमति नहुँदा नगरसभा अन्योलमा परेको कर्मचारीको भनाइ छ । ‘नगरपालिकाका शिक्षक र कर्मचारीले चालु आर्थिक वर्षको तलबभत्ता खान पाएका छैनौं,’ कर्मचारीहरुले बताए । तलबबाट वञ्चित भएपछि केही कर्मचारीहरुले कार्यालय आउन समेत मानेका छैनन् ।
नगरपरिषद नहुँदा अहिले सम्म खाता संचालन नभएपछि समाजिक सुरक्षा भत्ता वितरण नहुँदा सयौं जेष्ठ नागरीक, अपांगता भएका व्यक्ति र विधुवा लगायत पीडित बनेका छन् ।
स्थानीय तहको दोश्रो निर्वाचन पश्चात निर्वाचित भएर आएका मेयर सुखदेव यादव सहितका जनप्रतिनिधिको कार्यकाल तीन वर्ष पुरा भई सके अवस्था भएपनि यस कार्यकालमा कहिले पनि समय नगरसभा सम्पन्न हुन सकेको छैन । जसले गर्दा पालिका भित्र कुनै किसिमको कामकाज नभएको तर आर्थिक वर्ष सक्ने बेलामा सबै जनप्रतिनिधिहरु मिलेर बजेट सिध्याउने र कमिशन खाने खेल मात्र देखिएको स्थानीयहरुले आरोप लगाएका छन् ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम उदगार अधिकारी पनि कार्यालयमा मुश्किलले उपस्थिती जनाउने गरेको एक वडा अध्यक्षले बताए ।
स्थानीयवासीका अनुसार तीन वर्षमा नगरपालिकाबाट देखिने खालका कुनै ठोस योजना वा विकास गतिविधि केहि हुन सकेको छैन ।
फेसबुक पेजबाट लाइफ गरेर हुने गरेको कार्यपालिका बैठकमा अनावश्यक छलफल मै सम्पन्न हुने गरेको देखिन्छ । यस आव मा पनि ४ पटक यस्ता बैठक बसेको भएपनि केहि उपलब्धी हासिल हुन सकेको छैन ।
यसैबीच, कतिपय स्थानीयले कार्यपालिका बैठक भत्ता प्राप्त गर्न मात्र बैठक बस्ने गरिएको आरोप पनि लगाएका छन्। यद्यपि, नगरपालिकाले यसबारे आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन।







