महोत्तरी- महोत्तरीको औरही नगरपालिका–८ टिम्कियामा भएको सडक दुर्घटनापछि आक्रोशित स्थानीय युवाहरूले बर्दिवास–जलेश्वर सडकखण्डमा मंगलबार बिहान १० बजेदेखि टायर बालेर चक्का जाम गरेका छन्।
सोमबार राति करिब ८ः३० बजे बर्दिवासबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश–२–०२००४ प ७२२२ नम्बरको मोटरसाइकलले औरही नगरपालिका–८ निवासी ४५ वर्षीय शिवजी दयाल यादवलाई ठक्कर दिएको थियो। गम्भीर घाइते यादवको उपचारका क्रममा जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक लोहरपट्टी नगरपालिका–३ तपनपुर निवासी १८ वर्षीय आतिस कुमार यादव र पछाडि सवार सोही स्थानका १८ वर्षीय अमन यादवलाई इलाका प्रहरी कार्यालय रामगोपालपुरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

घटनापछि दोषीमाथि कडा कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै स्थानीय युवाहरूले सडक अवरुद्ध गरेका थिए। चक्का जामका कारण उक्त सडकखण्डमा करिब चार घण्टा यातायात आवागमन पूर्णरूपमा प्रभावित भएको थियो।

आन्दोलनकारीहरूले मृतकको शव शीघ्र परिवारको जिम्मा लगाउनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कानुनी कारबाहीलाई तीव्रता दिनुपर्ने, औरही नगरपालिका–८ भित्रको सडक फराकिलो बनाउने, सीसीटीभी जडानका लागि बजेट व्यवस्था गर्ने, प्रत्येक विद्युत् पोलमा सडकबत्ती तथा रिफ्ल्यासिङ ट्राफिक लाइट जडान गर्ने, बर्दिवास–जलेश्वर सडकखण्डको नाला सरसफाइ गर्ने र टिम्कियादेखि श्रीपुर जाने सडकको बीच भागमा गोलचक्कर निर्माण गर्नुपर्ने माग अघि सारेका थिए।

स्थानीय युवाहरूले औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्कालाई सातबुँदे ज्ञापनपत्र बुझाएपछि ती मागहरूमा सहमति जुटेको जनाइएको छ।
सहमतिपछि नगरप्रमुख खड्काले पीडित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै कानुनी प्रक्रियाअनुसार क्षतिपूर्तिका लागि पहल गरिने तथा दोषीमाथि कडा कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गरिने प्रतिबद्धता जनाए। उनले औरही नगरपालिका–८ भित्रका सडकहरू चरणबद्ध रूपमा फराकिलो बनाइने, सीसीटीभी जडान, सडकबत्ती तथा रिफ्ल्यासिङ ट्राफिक लाइट व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिने बताए।

बर्दिवास–जलेश्वर सडकखण्डको नाला सरसफाइ तथा टिम्किया–श्रीपुर जोड्ने मार्गको बीच भागमा गोलचक्कर निर्माण नगरपालिकाको अधिकारक्षेत्रभित्र नपर्ने भएकाले सडक विभागसँग समन्वय गरी पहल गरिने नगरप्रमुख खड्काले बताए।
नगरप्रमुखको प्रतिबद्धतापछि अवरुद्ध बर्दिवास–जलेश्वर सडकखण्ड करिब चार घण्टापछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

















