सुजाता राई
विराटनगर । पतञ्जलि योग समिति महानगर, विराटनगरको आयोजनामा “योग सहयोग शिक्षक प्रशिक्षण” दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ।



२०८२ साल मंसिर १४ गतेदेखि २०८२ साल पुस ५ गतेसम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा ४२ जना नवयोग शिक्षक दीक्षित भएका छन्। दीक्षान्त कार्यक्रममा प्रमुख अतिथि माननीय पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले योग मानव स्वास्थ्य र जीवनशैली सुधारको आधार भएको उल्लेख गर्दै योग शिक्षकहरूको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले योगलाई समाजमा पुर्याउने अभियान सराहनीय भएको बताउनुभयो। गुरुआसन पं. चन्द्रमणि गुरागाईं तथा शोभा कोइरालाले कोसी प्रदेशमा योग शिक्षाको महत्वबारे प्रकाश पारे।
पतञ्जलि योग समिति महानगर विराटनगरका अध्यक्ष माधव अधिकारीको सभाध्य्क्षतामा कार्यक्रम सञ्चालन महासचिव डिबी बस्नेतले सम्हाले । संगठन सचिव चुडामणि घिमिरे (गोपाल) ले स्वागत मन्तव्य राखे।

दीक्षान्त कार्यक्रममा बालयोगी प्राप्ति घिमिरेसहित धेरैको संख्यामा योग शिक्षक, पत्रकार तथा योगप्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम अझ रोचक र आकर्षक बन्यो । कार्यक्रममा नवनियुक्त माननीय मन्त्रीलाई बधाई तथा सम्मान गरेका थिए भने पतञ्जलि योग समिति महानगरका उपाध्यक्ष चक्र लुइँटेलको शुभ जन्मोत्सव समेत मनाउँदै कार्यक्रम समापन गरिएको थियो।




