महोत्तरी – आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै उजुरी दर्ता भएको छैन।
मंगलबार चारै निर्वाचन क्षेत्रमा १९ महिला सहित १४३ जनाले मनोनयन दर्ता गरेका थिए। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध दाबी–विरोध वा उजुरी दर्ता गर्ने समय बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्म तोकेको थियो।



मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले भने, “निर्दिष्ट समयभित्र कार्यालयमा कर्मचारी उपस्थित भए पनि कुनै उजुरी परेको छैन। दाबी–विरोध नपरेकोले बाँकी प्रक्रिया तालिकाअनुसार अघि बढ्नेछ।”
उनी भन्छन्, “मनोनयनपत्रको जाँचबुझपछि ८ गते बिहीबार उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। ९ गते शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली र निर्वाचन चिन्ह पनि प्रकाशित हुनेछ।”
निर्वाचन अधिकृतको कार्यालयले दाबी–विरोध नपरेको अवस्थामा बाँकी सबै प्रक्रिया तय कार्यक्रमअनुसार अघि बढ्ने जनाएको छ।




