सर्लाही- देशमा विद्यमान राजनीतिक निराशा र परिवर्तनको तीव्र चाहनाबीच नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाप्रति सर्लाहीका युवामाझ उल्लेख्य मात्र होइन, अभूतपूर्व आकर्षण देखिन थालेको छ। युवापुस्ताले “अब की बार, गगन सरकार” भन्ने नारालाई केवल नारा मात्र नभई अभियानकै रूपमा अघि बढाउँदै उनलाई भावी नेतृत्वको रूपमा स्वीकार गर्न थालेका छन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायजस्ता आम नागरिकसँग प्रत्यक्ष जोडिएका विषयमा स्पष्ट, साहसी र प्रगतिशील धारणा राख्दै आएका थापाले युवाको भरोसा जित्दै गएको स्थानीय युवाहरूको भनाइ छ। पारदर्शी शासनप्रणाली, भ्रष्टाचारविरुद्धको अडान र पुरानो राजनीतिक संस्कृतिको विकल्प खोज्ने दृढ इच्छाशक्तिका कारण गगन थापा आज युवापुस्ताको आशा र विश्वासको केन्द्रमा उभिएका छन्।



सर्लाहीका विभिन्न पालिका, गाउँ तथा शहरी बस्तीहरूमा युवाहरूबीच भइरहेको राजनीतिक छलफल, भेटघाट र संवादमा गगन थापाको नेतृत्वबारे सकारात्मक बहस तीव्र बन्दै गएको छ। “अब भाषण होइन, परिणाम देखिने नेतृत्व चाहिन्छ” भन्ने धारणा युवामाझ दिनानुदिन बलियो हुँदै गएको देखिन्छ।




