महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा आफ्नै घरमा सुतिरहेकै अवस्थामा बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् । दुई दिनअघि घरबाट बेपत्ता भएकी ७३ वर्षीया रासो देवी यादवको शव निवस्त्र अवस्थामा घर अगाडीकै उखु बारीमा फेला परेको हो ।
रासो देवी यही माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरी यादवले जानकारी दिनुभयो । परिवारजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।



शवको अवस्था तथा घटनास्थलको प्रकृति हेर्दा घटनामा हत्याको आशङ्का गरिएको छ । यद्यपि घटनाको वास्तविक कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्दै शवको मुचुल्का प्रक्रिया अघि बढाइरहेको छ ।





