महोत्तरी - नेपालको ऊर्जा, प्राविधिक शिक्षा र पूर्वाधार विकासका विभिन्न निर्णायक चरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. मुकेशराज काफ्ले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा निर्वाचन मैदानमा उत्रिएका छन्।नेपाली कांग्रेसबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका काफ्ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातामाझ सक्रिय छन्। प्राविधिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उनको यात्रा बहुआयामिक मानिन्छ।
वि.सं. २०३१ भदौ १२ गते महोत्तरीको तत्कालीन खयरमारा गाउँ पञ्चायतमा जन्मिएका काफ्लेले लक्ष्मी नारायण जनता माध्यमिक विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका हुन्। विद्यार्थी जीवनमै सामाजिक तथा राजनीतिक चेतनामा सक्रिय उनी वि.सं. २०४५ सालमा पञ्चायती व्यवस्थाविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा केही दिन हिरासतमा परेका थिए।वि.सं. २०४६ सालको एसएलसी परीक्षामा विद्यालयबाट प्रथम श्रेणीमा उत्तीर्ण हुने एकमात्र विद्यार्थी बनेका काफ्ले त्यसपछि प्राविधिक शिक्षातर्फ आकर्षित भए।
महोत्तरीमै देखेका सिँचाइ आयोजनाका इञ्जिनियरहरूबाट प्रेरित हुँदै उनी पुल्चोक इञ्जिनियरिङ क्याम्पस पुगे।
पुल्चोक क्याम्पसमा डिप्लोमा तथा स्नातक तहको सिभिल इञ्जिनियरिङ अध्ययनका क्रममा काफ्ले विद्यार्थी राजनीतिमा सक्रिय भए। नेपाल विद्यार्थी संघको इकाई अध्यक्ष हुँदै स्ववियु सभापतिसम्म पुगेका उनले इञ्जिनियरिङ शिक्षामा पूर्ण शुल्क प्रणाली लागू गर्ने आन्दोलनको नेतृत्व गरेका थिए।
स्नातकपछि सरकारी सेवामा प्रवेश गरेका काफ्लेले दुर्गम क्षेत्र विकास समिति, लुम्बिनी विकास कोषलगायतका संस्थामा जिम्मेवारी सम्हाले। लुम्बिनी विकास कोषमा योजना प्रमुख रहँदा मायादेवी मन्दिरसहित गुरुयोजना कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे।वि.सं. २०७१ कात्तिकमा खुला प्रतिस्पर्धाबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका काफ्लेले देश १२–१३ घण्टासम्म लोडसेडिङ भोगिरहेको अवस्थामा नेतृत्व सम्हालेका थिए। २०७२ को भूकम्प र नाकाबन्दीजस्ता चुनौतीबीच विद्युत् प्रणालीलाई स्थिर राख्नु उनको कार्यकालको मुख्य चुनौती थियो।
उनकै कार्यकालमा मुजफ्फरपुर–ढल्केबर प्रसारण लाइनमार्फत भारतबाट सिधा विद्युत् आयात सुरु भएको थियो। साथै ऊर्जा संकट निवारण तथा ऊर्जा विकास दशकसम्बन्धी ९९ बुँदे गुरुयोजना पनि सोही अवधिमा स्वीकृत भएको थियो।कार्यकारी निर्देशक पदबाट राजीनामा दिएपछि काफ्ले पुनः पुल्चोक क्याम्पस फर्किए। विद्यावारिधिसम्मको अध्ययन पूरा गरेका उनी पछिल्ला वर्षहरूमा एमएस्सी हाइड्रोपावर कार्यक्रमका संयोजकसमेत रहेका थिए। पूर्णकालीन राजनीतिमा प्रवेश गर्न उनले २०८२ माघदेखि प्राध्यापन पेशाबाट राजीनामा दिएका छन्।
महोत्तरी–१ मा यसपटक एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत पार्टी, जसपा र नेमकिपालगायत दलका उम्मेदवारबीच प्रतिस्पर्धा छ। अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार विजयी भएको यो क्षेत्रमा यसपटक औपचारिक गठबन्धन नहुँदा निर्वाचन परिणाम खुला रहने अनुमान गरिएको छ।




