मिर्चैया नगरपालिका-११ का वडाध्यक्ष चन्द्रदीप यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका यादव मंगलबार जसपा नेपालमा प्रवेश गरेका हुन् ।
जसपा नेपालका उपाध्यक्ष एवं सिरहा-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकिशोर यादवले उनलाई एक कार्यक्रमबीच स्वागत गर्दै पार्टीमा भित्र्याए । वडाध्यक्ष यादव नेकपा एमालेको मिर्चैया नगर समितिका उपाध्यक्षसमेत थिए ।
उनीसँगै नेकपा एमालेको क्षेत्रीय सदस्य सुकदेव ठाकुर, मिर्चैया-११ को एमालेको वडा कमिटी अध्यक्ष सियाराम मण्डल, उपाध्यक्ष ललिता माझी, सचिव रुपेशकुमार यादव, सहसचिव सुरज साह र कोषाध्यक्ष सुनिता सदासहित सिंगो कार्यसमिति नै जसपा नेपालमा प्रवेश गरेका हुन् ।
यस्तै, नेकपा एमालेको भ्रातृ संगठन मुक्ति समाज मिर्चैया-११ का अध्यक्ष चन्द्र सदाय, उपाध्यक्ष कुसबा सदासहित झन्डै दुई सय नेता कार्यकर्ता पनि जसपा नेपालमा प्रवेश भएका छन् ।




