जीवनराज दाहाल (बर्दिबास, महोत्तरी) – सानो उमेर, तर ठूलो सोच । बर्दिबास नगरका १२ वर्षीय विद्यार्थी आर्सोन भट्टराईले निर्माण गरेको ‘सारस’ नामक रोबोटले स्थानीय समुदायमा कौतुहलता मात्र होइन, सम्भावनाको नयाँ आशा पनि जगाएको छ । बर्दिबासस्थित ग्लोबल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत आर्सोनले करिब १५ दिनको निरन्तर मेहनत र झन्डै ५ हजार रुपैयाँको लागतमा उक्त रोबोट तयार गरेका हुन् ।
विद्यालय तहकै विद्यार्थी भएर पनि प्रविधिप्रति देखाएको लगाव र प्रयोगशील सोचले आर्सोनलाई फरक पहिचान दिलाउन थालेको छ । रोबोट निर्माणको क्रममा विद्यालयका शिक्षकहरूको सक्रिय सहयोग र मार्गदर्शन पाएको उनी बताउँछन् । “शिक्षकहरूको हौसला र सुझावले मलाई अझै नयाँ कुरा सिक्न प्रेरित गर्यो,” आर्सोनको भनाइ छ ।




‘सारस रोबोट’ निर्माणमा उनका साथीहरू आकाश खड्का र राजित्य चौधरीले पनि सहकार्य गरेका थिए । Arduino UNO R3, L298N मोटर ड्राइभर, ब्याट्री इन्डिकेटर, ब्लुटुथ मोड्युल, मोटर, एम्प्लिफायर र स्पिकर जडान गरिएको यो रोबोट हाल ब्लुटुथमार्फत नियन्त्रण गर्न सकिने छ । यसले अघि–पछि हिँड्न सक्ने र सोधिएका सामान्य प्रश्नहरूको उत्तर दिन सक्ने क्षमता राख्छ ।

आर्सोनको सिर्जनशील यात्रा भने आजको रोबोटबाट मात्र सुरु भएको होइन । कक्षा ४–५ मा अध्ययन गर्दादेखि नै उनी साना–साना प्रयोगात्मक सामग्रीहरू निर्माणमा सक्रिय रहँदै आएका छन् । यसअघि उनले सोलिड रकेट जेट, जेट इञ्जिन, पानीबाट चल्ने गाडी तथा बादर धपाउने गनजस्ता नमुना उपकरणहरू तयार गरिसकेका छन् ।
भविष्यप्रति उनको दृष्टि झन् फराकिलो छ । ‘सारस रोबोट’लाई पूर्ण रूपमा स्वचालित बनाउने लक्ष्यका साथै नेपालमै सेटेलाइट निर्माण गर्ने र अन्तरिक्षमा रकेट प्रक्षेपण गर्ने सपना पनि उनले मनमा सजाएका छन् ।
‘सारस रोबोट’ निर्माणको मुख्य उद्देश्य शिक्षामा सहयोग पुर्याउनु रहेको आर्सोन बताउँछन् । सानो उमेरमै विज्ञान र प्रविधिप्रति देखाएको गहिरो रुचि, निरन्तर अभ्यास र कल्पनाशील सोचले आर्सोन भट्टराईलाई भविष्यको सम्भावनाशील वैज्ञानिक तथा आविष्कारकका रूपमा चिनाउन थालेको छ ।




