महोत्तरी – सरकारले वडा कार्यालयमा स्वच्छ खानेपानी, शौचालय तथा सरसफाइको व्यवस्था अनिवार्य गरे पनि महोत्तरी जिल्लाको औरही नगरपालिका–२ स्थित वडा कार्यालयमा ती आधारभूत पूर्वाधारको चरम अभाव देखिएको छ।

शौचालय र खानेपानी नहुँदा वडा कार्यालयमा कार्यरत कर्मचारी तथा सेवा लिन आउने सेवाग्राहीहरु दैनिक रूपमा समस्यामा परिरहेका छन्।वडा कार्यालयमा शौचालयको सुविधा नहुँदा कर्मचारीहरू नगरपालिकाको कार्यालय पुग्न बाध्य छन् भने सेवाग्राहीहरू झाडी, खेतबारीतर्फ जानुपर्ने वा नजिकका स्थानीयको घरको शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको छ। स्थानीयका अनुसार यसले विशेषगरी महिला सेवाग्राहीहरूलाई अत्यधिक कठिनाइ भएको छ।




औरही नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा करिब दुई दशकअघि निर्माण गरिएको शौचालय हाल जीर्ण भई पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। सो शौचालय भत्किएपछि लामो समयदेखि नयाँ शौचालय निर्माण नहुँदा समस्या झन् गम्भीर बनेको वडा कार्यालयमा कार्यरत एक कर्मचारीले बताए।वडा कार्यालयमा सेवा लिन आएका स्थानीय रामजीवन यादवले वडा अध्यक्षले विभिन्न शीर्षकमा बजेट खर्च गरे पनि आफ्नै वडा कार्यालयभित्र न्यूनतम पूर्वाधारको व्यवस्था गर्न नसकेकोप्रति असन्तोष व्यक्त गरे। “जनताले प्रत्यक्ष सेवा लिने ठाउँमै शौचालय र खानेपानी नहुनु दुःखद अवस्था हो,” उनले भने।

शौचालयसँगै वडा कार्यालयमा खानेपानीको समस्या पनि उत्तिकै गम्भीर रहेको छ। कार्यालय परिसरमा चापाकल भए पनि लामो समयदेखि पानी नआउने गरेको कर्मचारी तथा सेवाग्राहीहरूको भनाइ छ। कर्मचारीहरूका अनुसार उनीहरूले नजिकै रहेको रामजानकी कुटीको धाराबाट पानी मगाएर खाने गरेका छन्। वडा अध्यक्षलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ।

यस विषयमा प्रतिक्रिया दिँदै औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले वडा कार्यालयमा देखिएको खानेपानी र शौचालयको समस्या गम्भीर भएको स्वीकार गरे। उनले भने, “वडा कार्यालय नागरिकको प्रत्यक्ष सेवा केन्द्र हो। त्यहाँ शौचालय र स्वच्छ खानेपानी नहुनु स्वीकार्य विषय होइन। वडा नम्बर २ मा देखिएको समस्या समाधानका लागि तत्काल प्राविधिक टोली पठाएर स्थलगत अध्ययन गरिन्छ र आवश्यक बजेटको व्यवस्था गरी शौचालय तथा खानेपानीको स्थायी समाधान गरिनेछ।”नगर प्रमुख खड्काले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०७४ ले तोकेका मापदण्ड पालना गर्न नगरपालिकाले कडाइ गर्ने प्रतिबद्धता जनाउँदै “कार्यविधि कार्यान्वयनमा कमजोरी देखिए सम्बन्धित वडा र जिम्मेवार पदाधिकारीलाई जवाफदेही बनाइनेछ,” भने।

खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी कार्यविधि २०७४ अनुसार प्रत्येक वडा कार्यालयमा स्वच्छ खानेपानीको स्थायी व्यवस्था, पुरुष, महिला तथा अपाङ्गता भएका व्यक्तिमैत्री शौचालय, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, नियमित सरसफाइ तथा फोहर व्यवस्थापन, स्वच्छ र हरियाली वातावरण, स्वच्छता शिक्षा, विपद् जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता अनिवार्य गरिएको छ। कार्यविधिअनुसार यी मापदण्ड कार्यान्वयन गर्ने प्रत्यक्ष जिम्मेवारी वडा अध्यक्षमा रहने स्पष्ट व्यवस्था छ।
तर औरही नगरपालिका–२ स्थित वडा कार्यालयमा यी अनिवार्य मापदण्डहरू लामो समयदेखि कार्यान्वयन नभएको गुनासो सेवाग्राही तथा कर्मचारीहरूले गर्दै आएका छन्।स्थानीयवासीहरूले नगर प्रमुखको प्रतिबद्धता कार्यान्वयनमा परिणत हुने अपेक्षा गर्दै समस्या समाधानको माग गरेका छन्।





