महोत्तरी - देशभर प्रतिनिधि सभा सदस्यको निर्वाचनको चहलपहल बढिरहेका बेला तराई–मधेसका किसानहरू भने कृषि समस्यासँग जुधिरहेका छन्। फागुन २१ गते हुने आसन्न निर्वाचनको माहोल ताते पनि महोत्तरी जिल्लाको औरही नगरपालिकाका किसानका लागि अहिले प्रमुख चिन्ता उखु काट्ने जनशक्ति अभाव र आगलागीबाट भएको क्षतिप्रति देखिएको बेवास्ता बनेको छ।
उखु काट्ने समय सुरु भएसँगै किसानहरू खेतमा व्यस्त देखिएका छन्। तर उखु काट्ने मजदुरहरू प्रायः भारत तथा अन्य मुलुकमा रोजगारीका लागि गएकाले गाउँमै आवश्यक जनशक्ति नपाइने समस्या गम्भीर बन्दै गएको किसानहरूले बताएका छन्। यसका कारण उखु ढिलो काटिनु, खेतमै सुक्नु तथा उत्पादनमा क्षति हुने जोखिम बढेको छ।
औरही नगरपालिका–२ का बसन्त सदाले आफू एक्लो ठेकेदार भएकाले सबै किसानको उखु काट्न नसकिएको बताए। “मान्छे पाइँदैन, जो छन् उनीहरू अरू ठाउँमा व्यस्त छन्,” उनले भने, “धनी किसानले पहिला आफ्नो उखु काटिदिन आग्रह गर्छन्, तर जनशक्ति नहुँदा सम्भव हुँदैन।”
केही दिनअघि औरही नगरपालिका–१ मा करिब १० जना किसानको संयुक्त रूपमा रहेको करिब ६ बिगाहा ७ कठ्ठा क्षेत्रफलको उखु खेतमा आगलागी भई ठूलो क्षति भएको थियो। आगलागीबाट उखु खेत जलेर नष्ट भए पनि हालसम्म कुनै किसिमको राहत वा आश्वासन नपाएको पीडित किसानहरूको गुनासो छ।
औरही नगरपालिका–१ का किसान बेचन यादवले आगलागी भएको यतिका दिन बितिसक्दा पनि कुनै पनि जनप्रतिनिधि, राजनीतिक दलका नेताकार्यकर्ता तथा सरकारी वा गैरसरकारी निकायका प्रतिनिधि किसानको अवस्था बुझ्न नपुगेको बताए। “उखु खेत जलेर नष्ट भयो, तर कसैले सोधपुछसमेत गरेन,” उनले भने, “अब कसरी नेपाल कृषि प्रधान देश हो भनेर बुझ्ने ?”
किसानहरूका अनुसार निर्वाचन नजिकिँदा भोट माग्ने उद्देश्यले मात्रै नेताकार्यकर्ता गाउँ–बस्ती पुग्ने गरेका छन्। औरही नगरपालिका–२ का बसन्त सदाले मुसहर बस्तीमा खानेपानी, शौचालय र धर्मशालाजस्ता आधारभूत सुविधा नहुँदा पनि कसैको चासो नदेखिएको बताए। “जितेपछि पाँच वर्षसम्म नेताहरू सम्पर्कविहीन हुन्छन्,” उनको भनाइ छ।
सोही बस्तीका चन्दर सदाले मुसहर समुदायका बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवाको अभाव रहेको गुनासो गरे। उनका अनुसार केही युवाहरू एसईई उत्तीर्ण तथा फार्मेसी र मेडिकल अध्ययनमा सफल भए पनि रोजगारी नपाउँदा उनीहरूका अभिभावक अझै अरूको खेतमा मजदुरी गर्न बाध्य छन्।
औरही नगरपालिका–२ का किसान दिनेश यादवले खेतमा काम गर्ने मजदुर नपाइने समस्या रहेको बताए। “२० कठ्ठामा उखु लगाएको छु, आफैं र गाउँकै मुसहर समुदायका मानिस लगाएर उखु काट्दैछु,” उनले भने। उनका अनुसार सिँचाइ सुविधा अभाव, समयमा मल नआउनु, नीलगाईबाट बाली नष्ट हुनु र उत्पादनको उचित बजार मूल्य नपाइनु किसानका प्रमुख समस्या हुन्।
अर्का किसान घनश्याम यादवले कृषिमा गरिएको सरकारी लगानी प्रभावकारी नदेखिएको बताए। “कतिपय खेतमा बिजुलीका पोल र तार पुगे पनि जडान गरिएको छैन,” उनले भने, “सिँचाइका लागि जडान गरिएका बोरिङ केही व्यक्तिले निजीकरण गरेर कब्जा गरेका छन्, धेरै बिग्रिएका छन्।” यसतर्फ सरोकारवाला निकायको ध्यान नपुगेको उनको गुनासो छ।
जिल्ला र मधेस प्रदेशबाट पटक–पटक सत्तामा पुगेका व्यक्तिहरू रहे पनि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्था जस्ताको तस्तै रहेको किसानहरूको भनाइ छ। संविधानको धारा ५१ अन्तर्गत कृषि क्षेत्रलाई राज्यको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख भए पनि स्थानीय तहमा त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा किसानका समस्या समाधान हुन नसकेको उनीहरूको निष्कर्ष छ।




