महोत्तरी – जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको आरोपमा महोत्तरीका १४ जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीका अनुसार जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार र पिपरा गाउँपालिकाका अध्यक्ष राम जानकी यादवसहित १४ जनाले पार्टी विधान उल्लंघन गर्दै आधिकारिक उम्मेदवारविरुद्ध नकारात्मक गतिविधि गरेकाले कारबाही गरिएको हो।



पार्टी जिल्ला समिति महोत्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ। विज्ञप्तिमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई चुनाव चिन्ह ‘छाता’ छापमा मतदान गरी विजयी बनाउन सम्पूर्ण नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई समर्थन र सहकार्य गर्न आह्वान गरिएको छ।
पार्टीका अनुसार ती नेताहरूलाई यसअघि पहिलो पटक माघ १९ र अन्तिम पटक फागुन ८ गते सचेत गराइए पनि सुधार नदेखिएकाले निष्कासनको निर्णय लिनुपरेको हो। निष्कासनमा पर्नेहरूमा कुशेश्वर सिंह, कुमरकान्ता, शेष जाली, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सुरेश साह सोनार, सन्तोष साह, रामजानकी यादव, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरि नारायण मण्डल रहेका छन्।
यसैबीच, श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिबाट तथा पिपरा गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयलाई प्रदेश समितिबाट निष्कासन गर्न सिफारिस गरिएको छ। पार्टी जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायद्वारा जारी विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको रक्षा गर्दै आगामी निर्वाचनमा सबैले पार्टी उम्मेदवारको पक्षमा एकताबद्ध हुनुपर्ने उल्लेख गरिएको छ।
यसअघि पनि जसपा नेपालले माघ १४ गते पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै पूर्वमन्त्रीसहित आठ जनामाथि कारबाही गरेको थियो। सो क्रममा पूर्वमन्त्री हरिनारायण यादवसहित पर्सा, बारा, सर्लाही र महोत्तरीका विभिन्न नेताहरूलाई कारबाही गरिएको पार्टीले जनाएको छ।





