धनुषा । धनुषा जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहँदा उक्त प्रतिशतमा मतदान भएको प्रारम्भिक अनुमान गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो।
जिल्लाका ६ सय ४५ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो। धनुषाका चार निर्वाचन क्षेत्रमा गरी ५ लाख १४ हजार ५ सय ७१ मतदाता रहेका छन्। तीमध्ये करिब ६० प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको प्रारम्भिक अनुमान गरिएको छ।
यता प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख प्रदेश निर्वाचन अधिकृत रोमबहादुर महत ले भने मतदानको यकिन प्रतिशत सार्वजनिक गर्नका लागि सम्बन्धित केन्द्रबाट विवरण सङ्कलन गरी फाराम भर्ने काम भइरहेको बताउनुभयो।
यसैबीच विभिन्न मतदान केन्द्रहरूमा मुचुल्का उठाउने र मतपेटिका लाहाछाप गर्ने काम जारी रहेको छ। प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार साँझ ६ बजेदेखि मतपेटिका निर्वाचन अधिकृतहरूको कार्यालयमा ढुवानी गर्न सवारी साधनको व्यवस्थापन गरिएको छ।
मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय सहमतिका आधारमा आजैदेखि मतगणना सुरु गरिने सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन्। मतगणनाका लागि धनुषाका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक तयारी पूरा भइसकेको छ।
यसैबीच मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया ले मधेश प्रदेशभरका २ हजार १ सय ६० मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिनुभएको छ। साथै विभिन्न स्थानबाट मतपेटिका ढुवानी गर्ने काम पनि सुरु भइसकेको उहाँले बताउनुभयो।




