महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उज्ज्वल कुमार झा आफ्नो विशिष्ट पहिचानका कारण यतिबेला राष्ट्रियस्तरमै चर्चामा आएका छन्। करिब डेढ फिट लामो टुप्पी (टिकी) राख्ने उनको शैलीले राजनीतिक वृत्तसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत ध्यान आकर्षित गरेको हो।
प्रारम्भिक चरणमा उनको टुप्पीलाई लिएर विभिन्न टिप्पणी भए पनि समयक्रममा यही विशेषता उनको छुट्टै पहिचानका रूपमा स्थापित भएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा काठमाडौंमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि उनको टुप्पीले थप चर्चा पाएको देखिएको छ।



उक्त कार्यक्रममा उनी सवारीबाट ओर्लिनेबित्तिकै सञ्चारकर्मीहरूको ध्यान उनको टुप्पीतर्फ केन्द्रित भएको थियो। त्यसयता उनका तस्बिरहरू विभिन्न अनलाइन माध्यममा प्रमुख सामग्रीका रूपमा प्रकाशित भइरहेका छन्। हाल उनलाई धेरैले नामभन्दा पनि ‘टुप्पी सांसद’ भनेर चिन्ने गरेका छन्।
झाले टुप्पीलाई व्यक्तिगत रुचिका रूपमा राख्दै आएका हुन्। निर्वाचन अभियानका क्रममा घरदैलो कार्यक्रममा समेत उनको टुप्पी मतदाताका लागि नयाँ र आकर्षक विषय बनेको थियो, जसले उनलाई भीडमा अलग देखिन सहयोग गरेको थियो।
यसअघि पञ्चायतकालमा महोत्तरीका कुलानन्द झा हातमा बोकेको लठीका कारण परिचित थिए। अहिले उनका नाति उज्ज्वल कुमार झा भने टुप्पीकै कारण फरक पहिचान बनाउन सफल भएका छन्।
हालै सम्पन्न निर्वाचनमा निकटतम प्रतिस्पर्धीभन्दा झण्डै तेब्बर मत ल्याएर विजयी भएका उनले काठमाडौंमा पनि आफ्नो फरक शैलीमार्फत सबैको ध्यान खिच्दै छुट्टै छाप छोड्न सफल भएका छन् ।









