२०८२ चैत्र ३ गते पर्सा जिल्लाको पर्सागढी नगरपालिका बस्ने हरिकला सहानी माथि उनको श्रीमानबाट भएको सांघातिक हमला प्रति महिला पुनर्स्थापना केन्द्र ओरेकको गम्भीर ध्यानाकर्षण भएको छ ।
वैदेशिक रोजगारीका लागि आवश्यक रकम माइतीबाट दाइजो स्वरूप नल्याएको रिसमा पीडकले सहानीको हातखुट्टा बाँधेर बाँया खुट्टा धारिलो हतियारले काटिदिएका छन् ।



मधेश प्रदेशमा यसरी सानो निहुँमा महिलाको हत्या गर्ने अथवा मरणासन्न हुने गरी कुटपिट गर्ने क्रम अत्यन्तै बढिरहेको छ । गत एक महिनामा मात्रै महोत्तरी जिल्लामा ३ जना, बारा जिल्लामा २ जना र सर्लाही जिल्लामा २ जना गरी ७ जना महिलाको क्रुरतापुर्वक हत्या गरिएको थियो । यसरी भएका हत्यामा २ जना महिलाका श्रीमान नै संलग्न भएका छन् भने अन्य घटनामा आफन्त र छिमेकी समेत रहेका छन् । दाइजो कम ल्याएको अथवा थप दाइजो वापतको रकम/सामान प्रदान नगरेको निहुँमा परिवारको सदस्यबाट ३ वटा हत्या भएका छन् । सर्लाही जिल्लामा बोक्सीको आरोपमा ६ जना छिमेकीको संलग्नतामा एउटी महिलाको हत्या गरिएको थियो । त्यस्तै सर्लाहीमै एकजना महिलालाई उनका छोराले वडा अध्यक्षको छोरी बिहे गरेको निहुँमा वडा अध्यक्षका परिवार तथा आफन्त मिलेर निर्घात कुटपिट गरेका थिए । जुन घटनाको उजुरी लिन प्रहरीले समेत मानेको थिएन।
यी घटनाक्रम हेर्दा महिला माथिको आक्रमण दैनिक रुपमा बढिरहेको देखिन्छ । ओरेकसँग आएका घटना मात्रै हेर्ने हो भने पनि गत एक महिनामा मधेश प्रदेशको महोत्तरी, धनुषा, सर्लाही, बाराबाट ४१ वटा घटना दर्ता भएका छन् । जसमा महिलाले महिला भएकै कारणले निर्घात कुटपिट सहनुका साथै मर्नु पर्ने अवस्थामा पुगेका छन् । यसरी भएका घटनाहरुले महिलाको सुरक्षा अवस्था मधेशमा गम्भीर रहेको देखाउँछ । यो घटना केवल एउटा व्यक्ति माथि गरिएको अपराध मात्र नभई हाम्रो समाजमा जरो गाडेर बसेको पितृसत्तात्मक सोच, अहंकार, महिलाको शरिर माथिको नियन्त्रण, महिलालाई वस्तुको रुपमा प्रयोग गर्न खोज्नु र महिलाको अस्तित्व माथिको निकृष्ट प्रहार हो ।
हाम्रो समाजमा अझै पनि गहिरो रूपमा व्याप्त पितृसत्तात्मक मानसिकताले महिलाको शरीरलाई पुरुषको ‘शक्ति प्रदर्शन’ ‘बदला लिन सकिने’ ‘रिस पोख्ने’ माध्यम र मनोरञ्जनको साधनका रूपमा हेर्ने गर्दछ । यसले गर्दा सम्पुर्ण समाजको सुरक्षा, न्याय व्यवस्था र मानवीय संवेदनशीलता माथि गम्भिर प्रश्न खडा गर्छ ।
देशमा भएका कानुन घरेलु हिंसा पछि महिला हत्याको तथ्यांकले राज्यको सुरक्षा संयन्त्र, घरेलु हिंसा सम्बन्धी बनेका ऐन, कानुन र न्याय प्रणाली माथि गम्भीर प्रश्न उठाएको छ । अधिकांश घटनामा राजनीतिक पहुँच र शक्ति संरचनाका कारण अपराधीहरूले उन्मुक्ति पाउने वा सजायमा छुट पाउने प्रवृत्तिले गर्दा अपराधीहरूको मनोबल उच्च भएको छ । यो प्रवृत्तिले न्याय खोजिरहेका पीडित तथा प्रभावितको परिवारलाई झनै मानसिक र सामाजिक पीडा थप्ने कार्य गरेको छ ।
पर्साको यस घटनाका आरोपी विश्वराज सहानी अहिलेसम्म फरार रहेका छन्, प्रहरीले खोजी गरिरहेको बताएको छ । तसर्थ महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले यस्ता हिंसात्मक अपराधहरुको घोर भत्सर्ना गर्दै अपराधीलाई कडा भन्दा कडा कारवाहीको माग गर्दछ र आगामी दिनमा यस्ता घटना न्यूनीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकार सबैको तर्फबाट कडा भन्दा कडा रुपमा कानुनी कारवाहीको माग गर्दछौं ।




