महोत्तरीको बर्दिवास नगर क्षेत्रका चार जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्। सनसाइन इंगलिस स्कुलका संस्थापक दिपक रायमाझीद्वारा सञ्चालित गोमा प्रतिष्ठानले विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको पहिचान गरी आगामी शैक्षिक सत्रदेखि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

प्रतिष्ठानले प्रारम्भिक चरणमा सनसाइन इंगलिस स्कुलमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई मात्र समावेश गर्ने गरी अनौपचारिक कार्यविधि तयार गरेको जनाएको छ। कक्षा ८ मा अध्ययन गर्ने एक छात्र र एक छात्रा तथा कक्षा ११ र १२ का लागि एक–एक जना गरी जम्मा चार जनालाई छात्रवृत्ति प्रदान गरिने संस्थापक दिपक रायमाझीले जानकारी दिए।



गोमा प्रतिष्ठान रायमाझीका स्वर्गीय बाबु–आमाको सम्झनामा स्थापना गरिएको प्रतिष्ठान हो । बुबाको गोवर्द्वन र आमाको मायादेवीबाट गोमा प्रतिष्ठान राखिएको रायमाझीको भनाई छ । प्रतिष्ठानले छात्रवृत्तिका लागि चाँडै सूचना प्रकाशित गर्ने जनाएको छ । सूचनापछि इच्छुक विद्यार्थीहरूले निवेदन दिनुपर्नेछ भने छनोट प्रक्रिया लिखित परीक्षा र मौखिक अन्तर्वार्तामार्फत गरिने प्रतिष्ठानका अध्यक्ष तथा विद्यालयका संस्थापक प्रधानाध्यापक रायमाझीले बताए ।




