महोत्तरी बर्दिवासका शैलेशमणि दाहालले सुरुमा ‘एसएमसी एप’मा भिडियो हेरेर पैसा कमाउन सकिन्छ भन्ने पत्याएका थिएनन्। उनका साथीहरू एसएमसीको सदस्य बनिसकेका थिए । केही साथीले उनलाई पैसा कमाएको ‘लाइभ’ देखाए । त्यसपछि सजिलो तरिकाले परिश्रम नै नगरी पैसा कमाउने लोभमा उनी के३ स्तरको सदस्य बने । यसका लागि एसएमसीको नियमानुसार ३३ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपथ्र्यो । ‘यसबाट भिडियो हेरेपछि ११३० रुपैयाँ एसएमसी खातामा दैनिक जम्मा हुने गथ्र्यो,’ उनले भने, ‘८ हजार रुपैयाँ भएपछि मात्र झिक्न मिल्ने सुविधाअनुसार हप्ताको मंगलबार र शुक्रबार बैंक वा इसेवामा जम्मा गर्न निवेदन दिनुपर्ने नियम बनाइएको थियो ।’
सुरु–सुरुमा दाहालको खातामा पैसा पनि आयो । लगानी गरेको ३३ हजार ५०० उठाए पनि । तर, आफूमार्फत् अन्य सदस्य बनाउँदा थप भिडियो हेर्ने व्यवस्था र आकर्षक अतिरिक्त बोनस पाउने लोभ देखाइयो । अब उनी मासिक ३३ हजार ५०० होइन, थप सदस्य बनाएर लाखौँ रुपैयाँ कमाउने सपना देख्न थाले । दाहालकै माध्यमबाट बर्दिवासमा मात्र ११ जना सदस्य बने, जसबापत ३ लाख ६० हजार रुपैयाँ लगानी भयो । ‘सदस्य बनाएबापत एसएमसीको कर्मचारीका रूपमा ९ हजार र अन्य सदस्य जोडेबापत महिनाको ९० हजार रुपैयाँ पाउने अवस्थामा पुगेँ,’ दाहालले भने, ‘झन्डै ४ महिनासम्म निर्धारित प्रावधानअनुसार पैसा पनि कमाएँ ।’



अमेरिकन कम्पनी भएको र पैसा पनि उतैबाट आउने भनिए पनि उनको खातामा नेपाली व्यक्तिकै नामबाट पैसा आउँथ्यो । दाहालले जति जनालाई सदस्य बनाए, उनीहरूको सदस्यता शुल्कबापतको पैसा पनि नेपाली व्यक्तिकै खातामा गएको देखिएको छ । आंशका नै आंशकाबीच दाहालको एसएमसी एपमा पैसा जम्मा हुँदै गयो, तर उक्त पैसा झिक्ने क्रममा ढिलाइ हुँदै गयो । अन्त्यमा पैसा आउन छाड्यो र एसएमसीले करबापत थप पैसा तिर्नुपर्ने सूचना निकाल्यो । ‘त्यसपछि न एप चल्यो, न त पैसा नै आयो,’ दाहालले भने, ‘११ जनामध्येको केही किस्ता निस्किए पनि अधिकांशको उक्त ३ लाख ६० हजार नफर्किने गरी डुब्यो ।’
दाहाल त यो जालोबाट ठगिने प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै बिनापरिश्रम पैसा कमाउने सपना देखेकाहरूको अहिले बिचल्ली भएको छ । महोत्तरीमा मात्र १५०० भन्दा बढी व्यक्ति ठगिएको प्रहरीको अनुमान छ । मधेस प्रदेशभर झन्डै २० हजार जना ठगिएको हुन सक्ने अनुमान छ । जसमा ३३ हजार ५०० रुपैयाँका दरले हिसाब गर्दा ६७ करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।
यो अनलाइन स्क्याम गरेर ठगीको जालो कसरी फैलियो भन्ने थाहा पाउन २०८२ जेठमा फर्किनुपर्छ । कम्पनी रजिस्ट्रार कार्यालयको अभिलेखअनुसार २९ जेठ, २०८२ मा एसएमसी–एन एड्भरटाइजिङ सर्भिस सेन्टर दर्ता भएको थियो । चितवन खैरहनी नगरपालिका–६ मा सोनम खातुनको नाममा दर्ता भएको यो कम्पनीको उद्देश्यमा विज्ञापन संकलन गरी पत्रिका, रेडियो, टिभी, इन्टरनेटबाट विज्ञापन गर्ने÷गराउने, अनलाइन प्लेटफर्ममा विज्ञापन र प्रचारको योजना बनाउने, कुनै व्यक्ति र संस्थाको सोसल मिडिया व्यवस्थापन गर्नेलगायत छन् । पीडितहरूका अनुसार यही कम्पनीको आवरणमा एसएमसी नामक मोबाइल एप बनाइएको र हलिउड चलचित्र उद्योगसँग सम्झौता गरेर चलचित्रको विज्ञापन गरिएको भ्रम छरिएको थियो । यसैलाई आधार बनाएर नेपाल प्रहरीको साइबर ब्युरोमा अहिलेसम्म २५५ वटा सामूहिक उजुरी परेका छन् । उजुरीका आधारमा १२ करोड ८ लाख रुपैयाँभन्दा धेरै ठगी भएको देखिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थी बताउँछन् ।
यसरी लोभिए सर्वसाधारण
एसएमसीको मुख्यालय अमेरिकाको न्युयोर्कमा रहेको र नेपालमा कार्यालय भवन निर्माणाधीन रहेको सन्देशसहितका प्रचार सामग्री सर्वसाधारणमाझ फैलाइएको थियो ।
ह्वाटस्एप, म्यासेन्जरमार्फत् एसएमसी एप सेयर गर्दै भिडियो हेर्दा मात्र पनि पैसा आउने भन्दै गरिएको विज्ञापनमार्फत् हजारौँले यो एप डाउनलोड गरेका थिए । ३ हजार लगानी गरे के–१ तहको कर्मचारीको मान्यता पाउने र दिनमा ५ वटा फिल्म हेरेर दैनिक आम्दानी सय रुपैयाँ पाउने भनिएको थियो । के–२ तहको कर्मचारी बन्न ९ हजार ९०० लगानी गर्नुपर्ने, उसको आम्दानी दैनिक ३३०, के–३ तहको कर्मचारी बन्न ३३ हजार ५०० लगानी गरेर दैनिक १ हजार १४० रुपैयाँ आम्दानी हुने, के–४ तहको कर्मचारी बन्न १ लाख १० हजार लगानी गर्नुपर्ने प्रावधान राखिएको थियो ।
सदस्य बनाएबापत केहीलाई गाडी, सुनका गहना, केहीलाई इलेक्ट्रिक र घरायसी सामान परेको भन्दै सन्देश फैलाइएको थियो । के–४ र के–५ तहमा पुग्नेलाई घर बनाउन, गाडी किन्न ऋण सुविधा दिने, स्वास्थ्य बिमा गरिदिने प्रलोभन पनि देखाइएको थियो । ‘सुरुमा पैसा पनि आयो । त्यसपछि परिवारका सदस्यहरूलाई बनाएँ,’ बर्दिवासका स्थानीय जगत् खड्काले भने, ‘पैसा आउन छाडेपछि स्क्याम रहेछ, अनलाइन ठगी भएको रहेछ भन्ने थाहा भयो ।’ पैसा पठाउँदा विभिन्न व्यक्तिको नाममा जाने र को हो भन्ने थाहा पाउन नसकिने भएकाले प्रहरीलाई उजुरीसमेत नगरेको पीडितहरूको भनाइ छ ।
किन प्रहरीमा गएनन् पीडित ?
प्रदेश प्रहरी कार्यालयका अनुसार मधेसमा एसएमसी ठगीको विषयमा प्रहरीलाई जानकारी भए पनि औपचारिक उजुरी आएको छैन । जिल्लागत प्रहरी कार्यालयहरूमा बुझ्दा अन्य अनलाइन ठगीका घटनाको उजुरी आए पनि एसएमसी ठगीको विषयमा जानकारी नभएको बताए । तर, पीडितहरूसँग बुझ्दा आफैँ फसिने डरले उजुरी गर्न नगएको पाइएको छ । अरूलाई सदस्य बनाएपछि आफ्नै जिम्मेवारीमा काम भएको र पैसा कमाउने लोभमा आफूसहित अरू पनि फसेको उनीहरू बताउँछन् । नाम नखुलाउने सर्तमा एक पीडितले आफन्त र नातेदारहरूलाई समेत एसएमसीमा सदस्य बनाएको र यसबाट २० लाख रुपैयाँ फसेको बताए । ‘ससुरालीतिर, घरतिर, साथीभाइहरूलाई भनेर सदस्य बनाइयो । तर, अहिले सबैले मसँगै पैसा मागिरहेका छन्,’ उनले भने, ‘अहिले फोन नम्बर नै परिवर्तन गरेर काठमाडौँतिर बसिरहेको छु ।’ सदस्यता शुल्क हाल्दा नेपालीकै खातामा गएको थाहा पाए पनि अहिले त्यो प्रमाणसमेत आफूसँग नहुँदा उजुरी गर्ने आधार नभएको उनको भनाइ छ ।
के भन्छ प्रहरी ?
जिल्ला प्रहरी कार्यालय महोत्तरीले कोही उजुरी लिएर आए अनुसन्धान प्रक्रिया अघि बढाउने बताएको छ । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख विकास बम मौखिक जानकारी भए पनि लिखित उजुरी नपरेकाले विषयवस्तुमा प्रवेश गर्न अफ्ठ्यारो भएको बताउँछन् । यता, साइबर ब्युरोमा परेको उजुरीकै आधारमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता दीपक अवस्थी बताउँछन् । जिल्लामा किन उजुरी परेन ? भन्ने विषयमा प्रहरी नै आशर्यचकित छ । यस्ता स्क्यामका घटनालाई प्रहरीले प्राथमिकतामा राखे पनि एसएमसी नेटवर्क ठगीको विषयमा किन उजुरी आइरहेको छैन भन्ने विषयमा अचम्म लागिरहेको जिल्ला प्रहरी मातहतका कार्यालय प्रमुखहरूले बताएका छन् ।
नेपालकै कर प्रणालीमा दर्ता भएको म्यासेज पठाएर प्रयोगकर्तालाई विश्वस्त बनाउने वातावरण पटकपटक सिर्जना गरिएको र थप लगानी गर्न प्रोत्साहन मिलेको पीडितहरूले बताएका छन् । अमेरिकाबाटै नियन्त्रण छ भन्ने देखाउन बेलाबेला अमेरिकन मोबाइल नम्बरसमेत प्रयोग गरेको भेटिएको छ । ‘कहिलेकाँही गिविन क्लेर्क नाम दिएर एक जना अमेरिकनले अंग्रेजीमा कुराकानी पनि गर्थे,’ चिकित्सा पेसा गर्दै आएका एक जनाले नाम नखुलाउने सर्तमा भने, ‘अब नेपालीहरूको गरिबी नै पो उन्मूलन होला भन्ने सोचेको थिएँ । तर, त्यो सबै झुट रहेछ ।’-सौर्य दैनिक




