मो. इसराफिल राइन,महोत्तरी – मटिहानी नगरपालिका–८ निवासी विजय कुमार साहले नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।साहले यही चैत्र २४ गते हुने महासंघको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दै उद्योगी, व्यवसायी र व्यापारी वर्गको हितमा आफ्नो प्राथमिकता केन्द्रित रहेको बताएका छन्। उहाँले भने, “उद्योगी व्यवसायी र व्यापारीहरूको उत्थान, समृद्धि एवं सुरक्षाका क्षेत्रमा काम गर्नु नै मेरो मुख्य लक्ष्य हो।”

उद्योगी तथा व्यापारीहरूको प्रतिनिधित्व गर्दै विजय कुमार साहले प्रदेशस्तरीय चुनौतीहरूको समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने वाचा पनि गरेका छन्।निर्वाचनमा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योग वाणिज्य संघका १८ अध्यक्ष र एसोसिएट संस्थाका ३८ सदस्य गरी कुल ५६ मतदाता रहनेछन्। यस निर्वाचनले प्रदेशको उद्योग तथा व्यापार क्षेत्रको नेतृत्व चयन गर्नेछ।




विजय कुमार साह नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य (वि.सं. २०७७–७९) तथा महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष (वि.सं. २०६३–२०७१) रहेका छन्। दुई कार्यकालको अनुभवसहित उहाँ उद्योग क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। यो अनुभवले प्रदेशस्तरीय नेतृत्वमा थप प्रभावकारी योगदान दिने अपेक्षा गरिएको छ।

निर्वाचन चैत्र २४ गते हुने भएकाले उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बनेको छ। उद्योगी तथा व्यापारी वर्गले यस निर्वाचनलाई प्रदेशको आर्थिक विकासको महत्वपूर्ण अवसरको रूपमा लिएका छन्।






