जीवनराज दाहाल
बर्दिबास ।बर्दिबास नगरपालिका–१ सङ्गम टोलस्थित ४२ सदस्यीय एकादशी महिला समूहले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि रु. ५५ हजार सहयोग गरेको छ । समूहकी अध्यक्ष मिना पोखरेलको नेतृत्वमा उक्त सहयोग रकम प्रदान गरिएको हो ।



समूहले यस वर्ष तीजको अवसरमा आयोजना गरिने दर कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रदान गर्ने निर्णय गरेको जनाएको छ । विपद्का कारण प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेको अवस्थामा आफ्नो खुसी र मनोरञ्जनका लागि खर्च गरिने रकमलाई पीडितको सहयोगमा लगाउने निर्णय गरिएको समूहले जनाएको छ ।
विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त सहयोगले सामाजिक उत्तरदायित्व, मानवीय भावना र आपसी एकताको सकारात्मक सन्देश दिएको छ ।
एकादशी महिला समूहको यस सहयोगले स्थानीयस्तरमा सामाजिक सेवा तथा मानवीय सहयोगको भावना अझ बलियो बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।




