- सुजाता राई
विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले पत्रकारले सधैं सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने बताएकी छिन् ।
विराटनगरमा सम्पन्न तीन दिने युवाहरूका लागि आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र यसको अर्थ रहने उल्लेख गरिन्। उनले पत्रकारहरूको क्षमता विकासमा महानगरपालिका सहयोग गर्न तयार रहेको स्पष्ट पारिन्।




उनले पत्रकारितालाई राज्यको चौथो अंगका रूपमा उल्लेख गर्दै समाज रूपान्तरणमा यसको महत्वपूर्ण भूमिका हुने बताइन्। “पत्रकारितामा गलत मार्गमा हिँडेकालाई सही दिशामा ल्याउने शक्ति हुन्छ,” उनले भनिन्।
अभिनव मिडिया प्रा.लि.को आयोजना र महानगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो। तालिममा सीमा बस्नेत, सुमन सुस्केरा, भरत खड्का र राजु श्रेष्ठले सहजीकरण गरेका थिए।
सहभागीहरूले समाचार लेखन, आचारसंहिता र सूचनाको हक सम्बन्धी ज्ञान प्राप्त भएको बताएका छन्।




