महोत्तरी – महोत्तरी जिल्लाका किसानहरू यतिबेला चैते बाली अन्तर्गत गहुँ, रहरलगायत दलहन बाली भित्र्याउन व्यस्त रहेका छन्। बेमौसमी हावाहुरी र वर्षाको जोखिम बढेपछि किसानहरू हतार–हतारमा बाली उठाउन बाध्य भएका हुन्।

यतिखेर किसानहरू बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त रहँदै गहुँ काट्ने, थ्रेसरबाट दाना छुट्याउने तथा भण्डारण गर्ने कार्यमा जुटिरहेका छन्। समयमै बाली नउठाए क्षति हुने डरले उनीहरूको कामको चाप बढेको छ।यसैबीच, डिजेल तथा इन्धनको मूल्यवृद्धिका कारण ट्र्याक्टर तथा थ्रेसर सेवा महँगो भएको किसानहरूको गुनासो छ। यसले खेतीमा समेत खर्च वृद्धि भएको उनीहरूको भनाइ छ।




औरही नगरपालिका–२ औरहीका किसान दिनेश यादवले मौसमको अनिश्चितताका कारण समयमै बाली भित्र्याउन बाध्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, “चैत महिनामा हावाहुरी र वर्षाको सम्भावना बढी हुने भएकाले बाली नष्ट हुने डरले हामी सबै परिवार मिलेर खेतमै खटिरहेका छौं, र हतार–हतारमा गहुँ काटेर थ्रेसरबाट दाना छुट्याइरहेका छौं।” उहाँले इन्धनको मूल्य बढेकाले ट्र्याक्टर तथा थ्रेसरको भाडा पनि महँगो परेको बताउनुभयो।

सोही ठाउँका अर्का किसान पञ्चलाल कापरले पनि मौसमको अनिश्चितताले किसानहरू थप दबाबमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस वर्ष मौसम निकै अनिश्चित छ, कहिले हावाहुरी त कहिले पानी पर्ने डर हुन्छ। गहुँ पाकिसकेकाले ढिला गर्दा झर्ने वा बिग्रने जोखिम रहेकाले हामी समयमै बाली भित्र्याउन बाध्य भएका छौं।”

यसैगरी,किसानहरूले खेत जोताइको दर अत्यधिक महँगो भएको गुनासो गरेका छन्। किसान पिडा यादवका अनुसार ट्र्याक्टरले खेत जोताउन प्रतिघण्टा रु. २२०० सम्म लिने गरिएको छ। उहाँले भन्नुभयो, “इन्धनको मूल्य बढेको बहाना देखाएर साहुहरूले मनोमानी भाडा असुलिरहेका छन्, जसले साना किसानलाई थप आर्थिक भार परेको छ।”त्यस्तै, किसानहरूले खेतमा काम गर्ने मजदुरको अभाव पनि ठूलो समस्याका रूपमा देखिएको बताएका छन्।

उनीहरूका अनुसार बाली भित्र्याउने मुख्य सिजनमा समेत पर्याप्त मजदुर नपाउँदा काममा ढिलाइ भइरहेको छ।किसानहरूले समयमै बाली भित्र्याउन नसके उत्पादनमा ठूलो क्षति हुने भन्दै सरोकारवाला निकायसँग तत्काल समाधानको माग गरेका छन्।

कृषि प्राविधिकहरूले पनि सम्भावित हावाहुरी र असिना पानीलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो बाली भित्र्याउन सुझाव दिएका छन्।






