महोत्तरीसहित मिथिला क्षेत्रमा वैशाख २ गते मनाइने जुड़शीतल पर्व बुधबार बिहानैदेखि हर्षोल्लासका साथ मनाइएको छ । जुड़शीतल, बासी पावनी र सिरुवा नामले परिचित यस पर्वमा घरका ज्येष्ठ सदस्यले कनिष्ठ तथा टोल–छिमेकका व्यक्तिको टाउकोमा जल छर्केर आशीर्वाद दिने परम्परा छ ।
जल छर्केर ‘जुडाए’पछि कनिष्ठहरूले ज्येष्ठको खुट्टा ढोगी आशीर्वाद लिने चलन रहिआएको छ । यस अवसरमा घरपरिवारका सामग्री, पशुपक्षी र रुख–बिरुवामा समेत पानी छर्केर शीतल बनाउने गरिन्छ ।



औरही नगरपालिका–२ का दिनेश यादवले जुड़शीतलले आपसी सद्भाव र सम्मानलाई मजबुत बनाउने बताए । “ज्येष्ठले सानालाई आशीर्वाद दिने चलनले परिवार र समाजबीचको सम्बन्धलाई अझ नजिक बनाउँछ,” उनले भने, “यो पर्वले गर्मीमा शरीरसँगै मन पनि शीतल राख्न सिकाउँछ ।”
गौशाला नगरपालिका–१० का मनिक लाल महतोका अनुसार जुड़शीतलले प्रकृतिप्रति जिम्मेवारीको बोध गराउँछ । “रुख–बिरुवामा पानी हाल्ने, पशुपक्षीलाई शीतलता दिने चलनले वातावरण संरक्षणको सन्देश दिन्छ,” उनले भने ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार वैशाखसँगै बढ्ने गर्मीलाई ध्यानमा राख्दै मानिस र वनस्पति दुवैका लागि शीतलताको कामना गर्ने परम्परा यस पर्वसँग जोडिएको छ । दिवंगत आफन्तको समाधिस्थलमा जल चढाउने चलनले जीवन र मृत्यु दुवै अवस्थामा शान्ति र शीतलताको सन्देश दिने विश्वास गरिन्छ ।
पहिले जुड़शीतलकै दिन इनार तथा कुवाको सरसफाइ गर्ने प्रचलन रहे पनि अहिले ती संरचना घट्दै जाँदा यस्तो अभ्यास हराउँदै गएको छ ।
यस पर्वमा विशेष परिकार खाने चलन पनि छ । वैशाख १ गते ‘सतुआइन’का दिन बनाइएका पुरी, बडी र विभिन्न तरुवा वैशाख २ गते खाने गरिन्छ । बासी भोजनले शरीरको ताप घटाएर शीतलता दिने विश्वासका कारण यसलाई ‘बासी पावनी’ पनि भनिन्छ ।
जुड़शीतलका दिन आँपको टिकुलाबाट बनाइने तरुवा र चटनी तथा सजिवन (सोहिजन) को तरकारी खाने प्रचलन छ । यसै दिनबाट मिथिलाञ्चलमा आँप खाने सुरुआत हुने जनविश्वास समेत रहिआएको छ ।




