महोत्तरी – महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा अज्ञात समूहले सुर्ती फर्ममा आगजनी गर्दा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बुधबार मध्यराति दिपेन्द्र महतो र हरिचरण महतोले खेतबाट ल्याएर सुकाउन राखेका छुट्टाछुट्टै तीनवटा सुर्ती फर्ममा आगो लगाइएको प्रहरीले जनाएको छ। आगलागीबाट दिपेन्द्र महतोको करिब १० लाख रुपैयाँ बराबरको सुर्ती फर्म तथा करिब ५ लाख रुपैयाँ बराबरको तयारी अवस्थामा रहेको सुर्ती जलेर नष्ट भएको छ। त्यस्तै, हरिचरण महतोको करिब ५ लाख रुपैयाँ बराबरको सुर्तीसमेत जलेर क्षति पुगेको छ।




स्थानीय बासिन्दा, प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
पीडित दुवै किसानले करिब एक बिघा जमिनमा सुर्ती खेती गरेका थिए। बजारमा बिक्रीका लागि तयारी अवस्थामा रहेको सुर्ती आगलागीबाट नष्ट भएपछि आम्दानी लिनै लागेको समयमा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूले बताएका छन्।

पीडित किसानहरूले क्षतिपूर्ति उपलब्ध गराइदिन स्थानीय सरकार संग माग गरेका छन् । उनिहरुले बलवा नगरपालिकाका मेयर विजय महतोसँग किसानको मर्का बुझेर क्षतिपूर्ति उपलब्ध गराइ दिन अनुरोध गरेका छन् ।
प्रहरीले घटनाको कारण तथा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ।






