६ वर्षअघिसम्म भारतको सिमानामा रहेको मटिहानी नगरपालिकाको अवस्था अस्तव्यस्त र दयनीय थियो । भारतको बिहारस्थित मधुवनी जिल्लासँग जोडिएको यस पालिकाले शताब्दियौँ लामो धार्मिक विरासत बोके पनि उचित प्रचारप्रसार हुन नसक्दा धेरैलाई मटिहानीको विषयमा थाहै थिएन ।
तर, जब नगरबासीले स्थानीय हरि मण्डललाई निर्वाचित गराए, तब मटिहानी देशमै धार्मिक पर्यटनका हिसाबले अग्रणी बन्यो । पत्रकार तथा नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापतिसमेत रहेका हरि मण्डलले पहिले त मटिहानीको विशिष्ट परिचय खोजे । मन्दिर नै मन्दिरको नगर भनेरसमेत चिनिने मटिहानीको धार्मिक श्रीवृद्धि गर्न गएका ६ वर्षमा नगर प्रमुख मण्डलले निकै ठुलो मिहिनेत गरे ।



पत्रकार पृष्ठभूमि भएकाले उनी मिडियामैत्री त थिए नै, अझ प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा नै उनले धेरै समय खर्चिए । अनि सम्भव भयो– मटिहानीप्रति सिंगो देशको ध्यानाकर्षण ।
मटिहानी प्रवेश गर्नुअघि पालिकाको ऐतिहासिक धार्मिक महत्व झल्किने विशाल गेटहरू देख्न सकिन्छ, जसले पालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।
झन्डै २ दशक जनप्रतिनिधिविहीन रहेका स्थानीय तहमा पहिलो कार्यकाल प्रायः जनप्रतिनिधिलाई कठिन नै रह्यो, जुन कठिनाइ नगर प्रमुख मण्डलले पनि महसुस गरे ।
‘तर, कर्मचारीहरूको समन्वय, जनप्रतिनिधिहरूको साझा सहमति र स्थानीयको सद्भाव रह्यो भने सन्तुष्ट हुने गरी नै विकास गर्न सकिँदो रहेछ,’ नगर प्रमुख मण्डलले भने ।
विशेष गरी नगर प्रमुख मण्डलले पालिकामा रहेका मठमन्दिर, मस्जिद, मदरसा आदिको जीर्णोद्धार, मर्मतसम्भार र निर्माण कार्यलाई प्राथमिकतामा राखे ।
…अनि केलाए मटिहानीको ‘गुदी’
पत्रकारिताको माध्यमबाट समेत मटिहानीको धार्मिक श्रीवृद्धिमा लागेका मेयर मण्डलले भूगोलको मौलिक विशिष्ट विशेषतालाई बुझिसकेका थिए । यसैको परिणामस्वरूप यो अवधिमा मण्डलले करिब २ दर्जन मन्दिरको सौन्दर्यकरण, मटिहानीको मुटु मानिएको लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार र सौन्दर्यकरण गरेर बाह्य र आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएका छन् ।
मटिहानीको प्राण मानिएको मटिहानी संस्कृत पाठशाला र आचार्यहरूको अध्यापन हुने विद्यापीठ र लक्ष्मीनारायण मठका कारण पनि मटिहानी देशमा चर्चित छ । यही भूमिमा १७५१ सालमा अनौपचारिक रूपमा गुरुकुल
आरम्भ गरेको र २६ वर्षपछि १८०१ सालमा लक्ष्मीनारायण महाविद्यालयको स्थापना भएकाले पनि मटिहानीको आफ्नै छुट्टै महत्व र विशेषता छ । यो गुरुकुल शताब्दियौँ पहिला स्थापना भएको पहिलो र जेठो गुरुकुल मानिन्छ ।
नगर प्रमुखले मण्डलले यसलाई नै मुख्य समृद्धिको अस्त्र बनाएका छन् । विश्वविद्यालयहरूबाट खोज र अनुसन्धान गर्न आउने विद्यार्थी होऊन् या धार्मिक पर्यटनको आकर्षण, यसलाई प्रचारप्रसार गर्न सके समृद्धिको आधार तय हुने नगर प्रमुख मण्डलको विश्वास छ ।
अहिले यही विश्वास नगर प्रमुख मण्डललाई उचाइ दिने मुख्य जस पनि बनेको छ । यसैका कारण पनि मटिहानीले उनै मण्डललाई दोस्रो पटक प्रमुखमा अनुमोदन गर्यो ।
शिक्षामा गरेको प्रगति
जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरूमा अझै रुढीवाढी र अन्धविश्वास कायमै छ । लैंगिक विभेद र धार्मिक अन्धविश्वासले विकासका कार्यहरूमा बाधा पुर्याउने गर्छ ।
अझ धार्मिक नगरी भनेर चिनिने मटिहानीमा त यस्ता चरित्रहरू हुने नै भए, जसका कारण छोरीलाई पढाउन हुन्न, छोरालाई पढाउनुपर्छ भन्ने जस्ता मान्यता अझै पूर्ण रूपमा चिर्न सकिएको छैन ।
यसबीचमा नगर प्रमुख मण्डलले छोरीहरूका लागी बेग्लै नीति बनाए । विद्यालय जाने छोरीहरूलाई साइकल वितरण तथा सेवासुविधामा वृद्धि गर्नाले छोरीहरू मात्र आकर्षित भएका छैनन्, अभिभावकमा पनि छोरीलाई पढाउनुपर्छ भन्ने अवधारणा विकास हुँदै गएको छ ।
छोरालाई समेत पढाइप्रति आकर्षित गर्न नगर प्रमुख मण्डलले विविध छात्रवृत्तिलगायत आकर्षणले मटिहानी धार्मिक नगरी मात्र होइन, शैक्षिक नगरीका रूपमा समेत विकसित बन्दै गएको स्थानीय बताउँछन् । अहिले पनि संस्कृत पढ्न देशैभरका विद्यार्थी यहाँ आउने गर्छन्, जसले मटिहानीको शैक्षिक आकर्षणलाई चित्रण गर्छ ।
पूर्वाधार निर्माणमा समेत अग्रणी
तत्कालीन ९ वटा गाविस मिलेर बनेको यस पालिकामा सिमानाका कारण थुप्रै समस्या छन् । झन्डै ३६ हजार जनसंख्या रहेको यस पालिकाका भौगोलिक विकटतालाई सुगम बनाउन नगर प्रमुख मण्डलले सम्भाव्यता अध्ययन गरी योजनाहरू बनाएका छन्।
अहिले कतिपय योजना सकिइसकेका छन् भने झन्डै ६३ वटाभन्दा बढी योजना सञ्चालित छन् । सोहीअनुसार यातायात, सडक निर्माण, मर्मतसम्भारको काम भइरहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।
मटिहानीका मुख्य ठाउँहरू धिरापुर, मझौरा, विसनपुर, सिमरदही लगायत अहिले यातायातका हिसाबले सुगम मानिन्छन्, जुन नगर प्रमुखको प्राथमिकता र सन्तुलित विकास गर्ने दृष्टिकोणले सम्भव भएको स्थानीय बताउँछन् ।
यहाँ मुस्लिम र हिन्दु समुदायकाे अन्तरघुलन छ : मेयर मण्डल
सिमानामा थुप्रै समस्या बोकेर बसेको मटिहानीलाई कसरी नयाँ उचाइमा पुर्याउनुभयो ?
पक्कै पनि २ दशकदेखि जनप्रतिनिधिविहीन भएर अस्तव्यस्त बनेको यो नगरमा म निर्वाचित भएर आउँदा थुप्रै समस्या थिए । पहिला त जनताका आधारभूत समस्या पहिचान गरेर कार्ययोजना बनाएँ, जुन योजनालाई जनप्रतिनिधिहरूले कुनै पूर्वाग्रह नराखी सहयोग गर्नुभयो । यसैको परिणाम स्वरूप नगर एउटा नयाँ उचाइमा पुगेको छ ।
सीमासम्बन्धी समस्याको अवस्था के छ ?
मैले पत्रकारिता गर्दा पनि सीमाका समस्याहरूलाई मिहीन ढंगले केलाएको थिएँ । जसले कार्ययोजना मात्र होइन, एक्सन लिन पनि सहयोग पुग्यो । भारतको मधुवनी जिल्लासँग जोडिएको यो पालिका जिल्लाका अन्य पालिकाको तुलनामा अलि बढी संवेदनशील छ । हामीले सीमाका विषयमा बजारदेखि अन्य धेरै विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुर्याएका छौँ ।
बालविवाहको समस्या पनि यो पालिकामा निकै देखियो । कसरी न्यूनीकरण गर्नुहुन्छ ?
तपाईंले निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । अशिक्षाका कारणले म निर्वाचित भएर आउँदासम्म ५० प्रतिशतभन्दा बढीको बालविवाह हुन्थ्यो । तर, मैले त्यसलाई फरक तरिकाले निरुत्साहित गर्ने प्रयास गरेको छु । उमेर पुगेर विवाह गर्नेहरूलाई हामीले घरमा नै पुगेर पुरस्कारको व्यवस्था मात्र गरेका छैनौँ, यसै क्षेत्रमा आधारित भएर थुप्रै चेतनामूलक कार्यक्रमसमेत गरेका छौँ । हरेक वर्ष यही बालविवाहलाई निरुत्साहित गर्न बजेटसमेत छुट्ट्याउने गरेका छौँ ।
यो पालिका भारतीय सीमामा भएकाले जिल्लाको उत्तरी क्षेत्रबाट सामान किनमेल गर्न आउनेको संख्या बाक्लै देखिन्छ । यसको व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ ?
कहिलेकाहीँ यो विषयले पालिकामा तनाव नै हुन्छ । प्रहरीले सीमास्थित भारतीय बजार पुगेर ल्याइएका सामान जफत गरिदिन्छ । त्यसपछि उत्पन्न हुने तनाव व्यवस्थापनका लागि जनप्रतिनिधिले नै पहलकदमी लिनुपर्ने हुन्छ ।
भारतीय बजारमा सस्तो पाउने भएकाले पनि नेपालीहरू किनमेल गर्न दैनिक सयौँको संख्यामा ओहोरदोहोर गरिरहेका हुन्छन् । सीमाबाट अवाञ्छित गतिविधिसमेत हुन सक्ने हुँदा हामी यस विषयमा निकै चनाखो रहन्छौँ । यसका लागि हामी कसरी व्यवस्थित र निगरानी गर्ने भन्ने विषयमा प्रहरीहरूसँग सहकार्यमै छौँ ।
दोस्रो कार्यकालका लागि पनि जित्नुभयो । आगामी योजना के–के छन् ?
जनताको अनुमोदनलाई पुनः मैले अवसरका रूपमा लिएको छु । यो ५ वर्षभित्र यहाँका जनताले निकै परिवर्तनको महसुस गर्नेमा म ढुक्क छु । अघिल्लो कार्यकालमा बनाइएका विकासका कतिपय गुरुयोजनाहरू पूरा गर्नु छ भने पहिले बनाइएका धेरै आधारलाई पूर्णता दिनु छ । पालिकाको पहिचानलाई वास्तवमै एउटा उचाइमा पुर्याइसकेको छु । यसलाई मैले भन्नुपर्दैन, पालिकाका जनता जसलाई सोधे पनि भन्छन् ।
मटिहानीको धार्मिक पर्यटनलाई कसरी विकास गर्दै हुनुहुन्छ ?
मैले मटिहानीलाई धार्मिक सहिष्णुताको एउटा उदाहरणीय भूमि बनाएको छु । मुस्लिम र हिन्दुहरूको अन्तरघुलनले बनेको अनुपम समाजको बीचमा आफू पनि अन्तरघुलित हुन पाउँदा निकै आनन्द आउँछ । अस्ति भर्खर मक्का जाने मुस्लिम समुदायलाई एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेँ । जे होस्, जनप्रतिनिधिको साझा भूमिकालाई सन्तुलित बनाएको म आफैँले महसुस गरेको छु ।
पूर्वराष्ट्रपतिलाई पनि मटिहानी ल्याउनुभयो । यसले धार्मिक महत्वलाई कत्तिको बढावा देला ?
हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि हाम्रो पवित्र शक्ति भूमिमा अनुभयो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर मटिहानीमा राष्ट्रपतिले पाइला टेक्दा हाम्रो नगरको उचाइ थप चुलिएको मैले महसुस गरेको छु । उहाँले नेपालकै पहिलो गुरुकुलको अवलोकन मात्र गर्नुभएन, हाम्रा मठ–मन्दिरको प्राचीन महत्वलाई समेत बुझेर जानुभयो । वहाले भन्नुभएको थियो– म यहाँ आएपछि ऊर्जा प्राप्त भएको छ । राष्ट्रपति आएपछि हाम्रो मटिहानीको चिनारी थप फराकिलो बनेको छ ।
अरू केही भन्नु छ ?
हाम्रो पालिकामा भए/गरेका गतिविधिलाई उजागर गरिदिनुभयो । हामी अत्यन्त आभारी छौँ । विकास टाइम्स म्यागजिनले हाम्रो जस्तै अन्य पालिकाका गतिविधि र खबरदारीलाई निरन्तरता दिइरहोस्, शुभकामना दिन चाहन्छु । विकास पत्रकारितामा नयाँ उचाइका लागि शुभकामना ।




