ढल्केबर । धनुषाको ढल्केबरस्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले आँखा रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ३० जना दृष्टि दूत परिचालन गरेको छ ।
समुदायस्तरमा पुगेर आँखा स्वास्थ्यबारे जानकारी फैलाउने लक्ष्यसहित जेन–जी समूहका युवालाई दृष्टि दूतका रूपमा परिचालन गरिएको अस्पतालका महासचिव हीरामणि शर्माले बताउनुभयो ।



उहाँका अनुसार यस क्षेत्रमा आँखा रोगका बिरामीको सङ्ख्या अधिक भए पनि पर्याप्त चेतनाको अभावका कारण धेरैजसो बिरामी समयमै उपचारबाट वञ्चित छन् ।
महासचिव शर्माले यस्तो कार्यक्रमले ग्रामीण तथा सहरी क्षेत्रमा आँखासम्बन्धी समस्याको पहिचान गर्न सहयोग पुग्ने र बिरामीलाई समयमै उपचार सेवामा जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

यो अवधारण नेपालमा पहिलो पटक भएको बताउँदै उहाँले युवाको सक्रियताले समुदायमा स्वास्थ्यप्रति सकारात्मक परिवर्तन आउने उहाँले जानकारी दिनुभयो ।
परिचालन गरिएका दृष्टि दूतले ढल्केबरलगायत वरपरका गाउँमा पुगेर आँखा रोगका लक्षण, रोकथामका उपाय, नियमित परीक्षणको आवश्यकता तथा उपलब्ध उपचार सेवाबारे स्थानीयलाई जानकारी गराउने काम गरेको महासचिव शर्माले बताउनुभयो । स्थानीय महेन्द्र र विनायक माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थीलाई दृष्टि दूतको रूपमा परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

मासुनागा आँखा अस्पताल ढल्केबरका नेत्ररोग विशेषज्ञ डा. उमेश यादवले दृष्टि दूत परिचालन गर्नु अघि उहाँहरूलाई आँखाका रोगसम्बन्धी आधारभूत ज्ञान, प्राथमिक पहिचान, परामर्श दिने तरिका तथा समुदायसँग प्रभावकारी सम्वाद गर्नेबारे तालिम प्रदान गरिएको बताउनुभयो ।
उहाँका अनुसार तालिम प्रदानपछि उहाँहरूलाई सो जिम्मेवारी दिइएको र नियमित अनुगमन पनि गरिने छ । अस्पतालले आगामी दिनमा यो कार्यक्रमलाई अझ बिस्तार गर्दै अन्य क्षेत्रसम्म पनि दृष्टि दूत परिचालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।






