महोत्तरी –डिभिजन वन कार्यालय महोत्तरीले वन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
वन अतिक्रमित क्षेत्रमा आवासीय तथा पसल सञ्चालन गर्दै आएका स्थानीयले घरटहरा हटाउन खोजिएको विरोधमा टायर बालेर राजमार्ग अवरुद्ध गरेका हुन्। व्यापक सुरक्षाकर्मीसहित डोजर परिचालन गरी घर भत्काउन खोजिएपछि स्थानीय आन्दोलित बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।



प्रहरीका अनुसार बिहान साढे ८ बजेदेखि सुरु भएको आन्दोलन बिहान १० बजेतिर वार्तापछि स्थगित भएको हो। बर्दिवास नगरपालिका–५ का वडाध्यक्ष कारमान स्याङ्गवासँग भएको सहमतिअनुसार हुकुम्बासीलाई घर खाली गराउने शर्तमा आजका लागि घरटहरा हटाउने प्रक्रिया स्थगित गरिएको जनाइएको छ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रले यसअघि नै अतिक्रमित संरचना हटाउन १५ दिने, सात दिने र तीन दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए।
उनले राजमार्ग आसपासका विभिन्न स्थानमा वनको जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको बताए। “सुरुमा साना पसल तथा टहरा बनाएर व्यवसाय थालिएको थियो, अहिले ती संरचना अर्धपक्की घरका रूपमा विस्तार भएका छन्,” प्रमुख मिश्रले भने।
गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग छेउछाउमा करिब २० वटा घरटहरा रहेको जनाइएको छ।




