महोत्तरी- नेपाली कांग्रेसले ‘ऊर्जा र विश्वासको नवीन अभियान’ अन्तर्गत मधेश प्रदेशका स्थानीय तह केन्द्रित आठवटै जिल्लाको परामर्श कार्यशाला महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको आयोजनामा बुधबार सञ्चालन हुने उक्त कार्यशालामा पार्टीका केन्द्रीय नेता, प्रदेशस्तरीय प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।



कार्यशालाको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसहित मधेश प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यशालामा पार्टी संगठन सुदृढीकरण, स्थानीय तहमा राजनीतिक सक्रियता, जनविश्वास अभिवृद्धि तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार कार्यशालाको मुख्य उद्देश्य पार्टीको सांगठनिक संरचना सुदृढ बनाउनु, कार्यकर्ताबीच समन्वय र प्रशिक्षणलाई प्रभावकारी बनाउनु तथा स्थानीय तहमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउनु रहेको छ।




