जनकपुरधाम – विज्ञहरूले नेपालको जनसंख्या नीतिलाई आधार बनाएर संघ, प्रदेश र स्थानीय तहका सरकारले नीति, योजना तथा बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।संघीय स्वास्थ्य तथा खाद्य, स्वच्छता मन्त्रालयको आयोजना, मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा आज जनकपुरधाममा आयोजित “राष्ट्रिय जनसंख्या नीति सार्वजनिकीकरण तथा अभिमुखीकरण” कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
वक्ताहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणको चरण चलिरहेको उल्लेख गर्दै जनसंख्या नीति विकास योजनाको महत्वपूर्ण आधार भएकाले त्यसअनुसार बजेट तथा कार्यक्रम तर्जुमा गर्दा प्रभावकारी प्रतिफल प्राप्त हुने बताए ।कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय ले प्रदेश सरकारले आगामी आर्थिक वर्षका स्वास्थ्य, शिक्षा तथा रोजगारीसम्बन्धी नीति निर्माण गर्दा जनसंख्या नीतिलाई प्राथमिक आधार बनाउने बताए ।




उनले जनसंख्या नीति विकास र समृद्धिको मार्गनिर्देशक दस्तावेज भएकाले त्यसअनुसार नीति तथा कार्यक्रम बनाए देशको विकासले गति लिने विश्वास व्यक्त गरे ।मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादव ले स्वास्थ्य, शिक्षा तथा विकासका अन्य क्षेत्रका नीति तथा कार्यक्रमसमेत जनसंख्या नीतिमा आधारित हुनुपर्ने बताए ।
स्वास्थ्य तथा खाद्य, स्वच्छता मन्त्रालयका सहसचिव हेमराज सुवेदी ले हिमाली क्षेत्रका ३४ जिल्ला तथा ३१९ स्थानीय तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको जानकारी दिए । उनले हाल देशको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको र १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या ६१.१ प्रतिशत रहेकाले यही अवधिमा विकास निर्माणमा तीव्रता दिन आवश्यक रहेको बताए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल ले तीनै तहका सरकारका लागि जनसंख्या नीति उत्कृष्ट मार्गदर्शक दस्तावेज भएकाले सोही आधारमा नीति तथा योजना निर्माण उपयुक्त हुने बताए ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका मधेश प्रदेश प्रमुख डा. नरेन्द्र कुमार मिश्र ले मधेश प्रदेश सरकारले स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी नीति निर्माणमा आवश्यक सहयोग गर्न कोष तयार रहेको बताए ।कार्यक्रममा प्राध्यापक, जनसंख्याविद् तथा तथ्यांकविद्को सहभागिता रहेको थियो । नेपाल सरकारले २०८२ असार २२ गते राष्ट्रिय जनसंख्या नीति जारी गरेको हो ।




