महोत्तरी – प्रादेशिक अस्पताल जलेश्वरको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्ति अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले संगठित रूपमा सुधार अभियान सुरु गरेका छन्। अस्पताललाई प्रभावकारी क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्नुपर्ने मागसहित उनीहरूले मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
आकाश कुमार साहको नेतृत्वमा मन्त्रालय पुगेको युवा टोलीले अस्पतालको समग्र सुधारका लागि दीर्घकालीन तथा तत्कालीन योजनाहरू अघि बढाउन आग्रह गरेको हो। टोलीमा जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष, रास्वपा जलेश्वर नगर सभापति अजय चौधरी, नेविसंघका केन्द्रीय सदस्य आशुतोष झा, विजय राय तथा युवा अभियन्ता बादल साहलगायतको सहभागिता रहेको थियो।



ज्ञापनपत्रमा अस्पतालमा नर्सिङ कलेज सञ्चालन, १०० शय्याको स्थायी स्वीकृति, अधुरो भवन निर्माण सम्पन्न गर्ने, चिकित्सक तथा नर्सका लागि आवास सुविधा, अक्सिजन प्लान्ट सञ्चालन, एम्बुलेन्स तथा शववाहनको व्यवस्था, फोहोर व्यवस्थापन सुधार तथा निःशुल्क औषधिको नियमित आपूर्ति सुनिश्चित गर्नेलगायतका विषय समेटिएका छन्।
युवाहरूले प्रादेशिक अस्पताल जलेश्वर महोत्तरी मात्र नभई आसपासका जिल्लाका हजारौं नागरिकको उपचार केन्द्र भए पनि आवश्यक स्रोत–साधन र जनशक्तिको अभावका कारण प्रभावकारी सेवा दिन नसकेको बताएका छन्। उनीहरूले स्वास्थ्य सेवाको सुधारका लागि नागरिक तहबाट निरन्तर खबरदारी र सहकार्य जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले ज्ञापनपत्रमा उठाइएका विषयहरू अध्ययन गरी सम्भव मागहरू आगामी नीति तथा बजेटमा समावेश गर्न पहल गर्ने आश्वासन दिएको टोलीले जनाएको छ।
स्थानीय स्तरमा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि युवाहरूको सक्रियताले जलेश्वरमा यस अभियानलाई सकारात्मक नागरिक हस्तक्षेपका रूपमा लिइएको छ।







