महोत्तरी – धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै महोत्तरी जिल्लाका किसानहरू मल, गुणस्तरीय बीउ, सिँचाइ सुविधा तथा कृषि पूर्वाधारको अभावका कारण गम्भीर समस्यामा परेका छन्। आवश्यक कृषि सामग्री समयमै उपलब्ध नहुँदा खेतीपाती प्रभावित हुने र यस वर्ष धान उत्पादनमा उल्लेख्य गिरावट आउन सक्ने भन्दै किसानहरू चिन्तित बनेका छन्।
जिल्लाका औरही, गौशाला, बर्दिबास, बलवा, लोहारपट्टी, जलेश्वर, मटिहानीलगायत क्षेत्रमा किसानहरू धान रोपाइँ तथा नर्सरी तयारीमा व्यस्त रहेका छन्। तर रासायनिक मलको आपूर्ति सहज नहुँदा किसानहरू निजी बजारबाट चर्को मूल्यमा मल खरिद गर्न बाध्य भएका छन्।



सरकारी अनुदानमा उपलब्ध हुनुपर्ने युरिया तथा डीएपी मल पर्याप्त मात्रामा नपुग्दा बजारमा अभावसँगै मूल्यवृद्धि समेत देखिएको किसानहरूको भनाइ छ। त्यस्तै, गुणस्तरीय बीउको अभावले उत्पादन क्षमतामा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन्।

पर्याप्त वर्षा नहुनु, नहर प्रणालीबाट नियमित पानी आपूर्ति हुन नसक्नु, साथै विद्युत् आपूर्तिमा देखिएको अनियमितता र कम भोल्टेजका कारण बोरिङ तथा ट्युबवेल सञ्चालनसमेत प्रभावित भएका छन्। वैकल्पिक रूपमा डिजेल पम्पसेट प्रयोग गर्नुपर्ने बाध्यताले उत्पादन लागत उल्लेख्य रूपमा वृद्धि भएको किसानहरूको भनाइ छ। सिँचाइको मुख्य स्रोत अवरुद्ध हुँदा खेतमा लगाइएको बाली सुक्न थालेको र पानीको अभाव झनै गहिरिँदै गएको उनीहरूले बताएका छन्।
औरही नगरपालिका–२ का किसान दिनेश यादवले बढ्दो तापक्रमका कारण जमिनमा चिस्यान घट्दै जाँदा खेतीयोग्य जमिनमा लगाइएको बाली जोगाउन कठिन भइरहेको बताउनुभयो।
त्यस्तै, सोही वडाका अर्का किसान घनश्याम यादवले बन्द अवस्थामा रहेको डीप बोरिङप्रति सम्बन्धित निकायको गम्भीर उदासीनता देखिएको आरोप लगाउनुभयो। उहाँका अनुसार केही वर्षअघि सञ्चालनमा आएको उक्त डीप बोरिङ हाल किन बन्द भयो भन्ने विषयमा स्पष्ट जानकारी छैन।

उहाँले तीन तहका सरकारमध्ये नजिकको स्थानीय सरकारले समेत समस्या समाधानतर्फ ठोस पहल नगरेको गुनासो गर्नुभयो। “दिनप्रतिदिन तापक्रम बढ्दै गएको छ, खेतमा लगाइएको बाली सुक्न थालेको छ, तर डीप बोरिङ किन बन्द भयो भन्ने विषयमा खोजबिनसमेत भएको छैन,” उहाँले भन्नुभयो।
यता, विद्युत् भोल्टेज कम हुने समस्याका कारण स्यालो ट्युबवेलसमेत सञ्चालन हुन नसकेको किसानहरूको गुनासो छ। कम भोल्टेज, सिँचाइ ट्रान्सफर्मरको अभाव तथा विद्युत् आपूर्तिमा देखिएका समस्याका कारण खेती प्रभावित भएको भन्दै महोत्तरीको गौशालास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रमा किसान तथा सेवाग्राहीहरूले ज्ञापनपत्र समेत बुझाएका छन्।
शुक्रबार स्थानीय सेवाग्राहीको एक समूहले वितरण केन्द्रका प्रमुख उपप्रबन्धक उमेशप्रसाद यादवलाई ज्ञापनपत्र बुझाउँदै कृषि प्रयोजनका लागि आवश्यक विद्युत् सेवा सहज बनाउन माग गरेका हुन्।
ज्ञापनपत्रमा कम भोल्टेज र ट्रान्सफर्मर अभावका कारण किसानहरू खेतमा सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ। ज्ञापनपत्र बुझ्दै वितरण केन्द्र प्रमुख यादवले विद्युत् सेवाप्रति उठेका गुनासा र मागप्रति प्राधिकरण गम्भीर रहेको बताउनुभयो। उहाँले मागको चाप उच्च रहेकाले उपलब्ध स्रोत–साधन र प्राथमिकताका आधारमा समस्याहरू क्रमिक रूपमा समाधान गरिने जानकारी दिनुभयो।
जिल्लाका अन्य क्षेत्रहरू गौशाला, बर्दिबास, लोहारपट्टी, जलेश्वर, मटिहानी र बलवामा समेत मल, बीउ र सिँचाइको समस्या देखिएको छ। किसानका अनुसार समयमै आवश्यक कृषि सामग्री उपलब्ध नभए यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउने जोखिम बढेको छ।
कृषि ज्ञान केन्द्र महोत्तरीले जिल्लामा मल, बीउ र सिँचाइसम्बन्धी समस्या रहेको स्वीकार गर्दै सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति सहज बनाउन पहल भइरहेको जनाएको छ। कार्यालयका अनुसार उपलब्ध स्रोतको अधिकतम उपयोगका लागि किसानलाई प्राविधिक परामर्शसमेत प्रदान गरिँदै आएको छ।
त्यसैगरी, स्थानीय तहहरूले सिँचाइ पूर्वाधार सुधार, नहर व्यवस्थापन, विद्युत् आपूर्ति सुधार तथा बन्द डीप बोरिङ मर्मतका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएका छन्।
किसानहरूले समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने, गुणस्तरीय बीउको सहज वितरण सुनिश्चित गरिनुपर्ने, सिँचाइ सुविधा विस्तार गरिनुपर्ने तथा बन्द अवस्थामा रहेको डीप बोरिङ तत्काल मर्मत गरी सञ्चालनमा ल्याइनुपर्ने माग गरेका छन्।
धान रोपाइँको मुख्य समयमा देखिएको मल, बीउ, सिँचाइ तथा पूर्वाधार संकट तत्काल समाधान नभए यस वर्ष धान उत्पादनमा गम्भीर असर पर्ने चेतावनी किसानहरूले दिएका छन्। उनीहरूले सरकार तथा सम्बन्धित निकायलाई प्रभावकारी र तत्काल कदम चाल्न आग्रह गरेका छन्।





