जनकपुरधाम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाको जिल्ला अधिवेशन आन्तरिक विवादका कारण प्रभावित बनेको छ। दुई पक्षबीच देखिएको मतभेदका कारण जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको जनाइएको छ।
शनिबार (जेठ २३) देखि सुरु गरिएको जिल्ला अधिवेशनका क्रममा असन्तुष्ट पक्षले सोही रातिदेखि जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।



असन्तुष्ट कार्यकर्ताहरूले जिल्ला अध्यक्ष लक्ष्मेश्वर यादवले अधिवेशन प्रक्रियामा मनोमानी गरेको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी ढङ्गबाट समस्या समाधान गर्न माग गरेका छन्।
उनीहरूले विवादको उचित समाधान नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाइने चेतावनी दिएका छन्। यस विषयमा पार्टीको आधिकारिक धारणा आउन बाँकी रहेको छ।
जिल्ला अधिवेशनसँग सम्बन्धित विवाद समाधानका लागि दुवै पक्षबीच छलफल र सहमतिको प्रयास भइरहेको बताइएको छ।





