सुजाता राई
विराटनगर । महिला उद्यमी संघ मोरङको आयोजनामा महिला उद्यमीहरूको नेतृत्व क्षमता, व्यवसायिक दक्षता तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले ‘दूरदर्शी उद्यमशीलता, नवप्रवर्तन र दिगोपन’ विषयक प्रशिक्षण कार्यक्रम जेष्ठ चौबीस गते आइतबार विराटनगरमा सम्पन्न भयो।



विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्की को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महिला उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि, नवप्रवर्तनमा आधारित उद्यम विकास तथा दिगोपन प्रवर्द्धनका विषयमा छलफल भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख कार्कीले महिलाको आर्थिक सशक्तीकरण महानगरको प्राथमिकतामा रहेको बताइन्। महिला उद्यमीहरूले भोगिरहेका समस्या, आवश्यकता तथा मागहरू खुलस्त रूपमा प्रस्तुत गर्न आग्रह गर्दै उनले महानगर नयाँ बजेट निर्माणको तयारीमा रहेको जानकारी दिइन्। प्राप्त सुझाव र आवश्यकताका आधारमा महिला उद्यमीहरूलाई थप सहयोग तथा अवसर उपलब्ध गराउन महानगर प्रतिबद्ध रहने धारणा राखिन्।
महिला उद्यमीहरूमा दूरदर्शी नेतृत्व विकास गर्नुका साथै व्यवसायमा नवीन सोचको प्रयोग, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा दीर्घकालीन सफलता हासिल गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
प्रशिक्षण सत्रको सहजीकरण सुभाष शिवम ले गरे। महिला उद्यमीहरूको उल्लेख्य सहभागितासहित सम्पन्न कार्यक्रमले अनुभव आदानप्रदान, सञ्जाल विस्तार तथा व्यवसायिक विकासका सम्भावनाबारे अन्तरक्रिया गर्ने अवसरसमेत प्रदान गर्यो।





