जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सत्य, तथ्य र निष्पक्षतामा आधारित पत्रकारिताले मात्र लोकतन्त्रलाई सुदृढ बनाउन सक्ने बताउँदै सञ्चारकर्मीलाई जिम्मेवार ढंगले कलम चलाउन आग्रह गरेका छन् ।
मिडिया काउन्सिल मधेश प्रदेशद्वारा जनकपुरधाममा धनुषाका पत्रकारहरूका लागि आयोजित ‘विश्वसनीय, मर्यादित तथा व्यवसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता, भाषा र शैली’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री महतोले गलत सूचना र भ्रामक समाचारले समाजमा भ्रम फैलाउने भएकाले समाचार सम्प्रेषण गर्दा सत्य र यथार्थलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।



उनले प्रदेश सरकार स्वतन्त्र र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गाले विगतमा सञ्चालन गरिएको पत्रकार दुर्घटना तथा स्वास्थ्य बीमा कार्यक्रम अपेक्षित रूपमा प्रभावकारी हुन नसकेकाले स्थगित गरिएको जानकारी दिँदै पत्रकारहरूका लागि लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई भने निरन्तरता दिइएको बताए ।
नेपाल पत्रकार महासंघ लेखा समितिका संयोजक केसी लामिछानेले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक लगानी गर्न नसकेको गुनासो गरे ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्णले प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम सञ्चालनतर्फ जोड दिँदा निजी सञ्चार माध्यमहरू प्रभावित हुने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, धनुषा शाखाका अध्यक्ष पुरन गुप्ता तथा मिडिया काउन्सिलका कार्यालय प्रमुख ओम विक्रम कटुवालले पत्रकारिताको व्यवसायिकता, आचारसंहिता र चुनौतीबारे धारणा राखेका थिए ।
अभिमुखीकरण कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झा र अनिल कर्णले सहभागी पत्रकारहरूलाई आचारसंहिता, भाषा, शैली तथा जिम्मेवार पत्रकारिताका विविध पक्षबारे प्रशिक्षण दिए ।




