जनकपुरधाम । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गत सञ्चालित कार्यक्रमले धनुषा र महोत्तरीका कृषकलाई आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान पुर्याएको छ।
नेपाल सरकारले धनुषाका दुई र महोत्तरीका दुई गरी चार स्थानीय तहमा सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाअन्तर्गतका कार्यक्रम प्रभावकारी बनेपछि कृषकहरू आत्मनिर्भर बन्दै गएका छन्।



विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई जनकपुरधामले दोस्रो चरणअन्तर्गत धनुषाको बटेश्वर र जनकनन्दिनी तथा महोत्तरीको सोनमा र सम्सी गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको हो। आयोजनाबाट लाभान्वित कृषक समूहका पदाधिकारीका अनुसार कार्यक्रमले जलवायु अनुकूलन क्षमता अभिवृद्धि गर्नुका साथै कृषि उत्पादकत्व बढाउन सहयोग गरेको छ।
कृषक सहजकर्ता महेश यादवका अनुसार कार्यक्रमले महिला कृषकलाई आत्मनिर्भर बनाउनुका साथै आयोजना क्षेत्रका लक्षित साना कृषक समुदायको पोषण अवस्थामा पनि सुधार ल्याएको छ। उहाँले सीप र ज्ञान प्राप्त गरेपछि महिलाले आधुनिक प्रविधिबाट खेती गरी उत्पादन वृद्धि गर्दै राम्रो आम्दानी गर्न थालेको बताउनुभयो।
महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित देवकी कृषक समूहका महिलाले ‘देवकी करेला बाली उत्पादन कृषक पाठशाला’ मार्फत तालिम लिएपछि व्यावसायिक करेला खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका छन्।
समूहकी अध्यक्ष विभा कुमारी यादवका अनुसार १६ सातासम्म सञ्चालन भएको पाठशालामा जैविक विषादी बनाउने तरिका, लाभदायक र हानिकारक किराको पहिचान तथा वैज्ञानिक खेती प्रणालीबारे ज्ञान प्राप्त गरिएको थियो। सोही ज्ञान प्रयोग गरी दुई कठ्ठामा करेला खेती गर्दा करिब दुई लाख ५० हजार रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो। खेतीबाट परिवारको खर्च धान्नुका साथै बचत गर्न पनि सफल भएको उहाँको भनाइ छ।
देवकी कृषक समूहका २५ जना महिलाले करेलासँगै घिउरा, भिन्डी लगायतका तरकारी खेती गरेर पनि आत्मनिर्भर बनेका छन्। रासायनिक मलको अभाव भएका बेला स्थानीय स्रोत–साधन प्रयोग गरी जैविक विषादी तथा पशुचौपायाको गोबर र मूत्रबाट प्राङ्गारिक मल उत्पादन गरी प्रयोग गर्दा उत्पादन बढ्नुका साथै माटोको उर्वराशक्ति पनि कायम राख्न सफल भएको उनीहरूको अनुभव छ।
आयोजनाका कृषि अधिकृत शिवचन्द्र झाले कृषिका लागि आवश्यक साना उपकरण, बीउबिजन तथा प्रविधि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो।
महोत्तरीको सोनमा गाउँपालिका–१ स्थित कमला जलप्रवर्द्धन समितिलाई सिँचाइका लागि ४० लाख रुपियाँ लागतमा मध्यम क्षमताको डिप ट्युबवेल उपलब्ध गराइएको समितिका अध्यक्ष राजेन्द्रप्रसाद यादवले बताउनुभयो। उहाँका अनुसार उक्त ट्युबवेलबाट १२ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ।
यस्तै, सोनमा गाउँपालिका–५ खैरबनीस्थित बालाजी पशुपालन कृषक समूहलाई करिब २३ लाख रुपियाँ लागतमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गरी दिइएको छ। त्यसबाट समूहमा आबद्ध २५ जना कृषकले दुग्धजन्य सामग्री बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्।
धनुषाको बटेश्वर गाउँपालिका–२ स्थित राजदेवी पशुपालन कृषक समूहलाई पशुपालन तथा घाँस उत्पादनका लागि अनुदान उपलब्ध गराएपछि त्यहाँका महिलाले पशुपालन र घाँस उत्पादनलाई व्यावसायिक बनाउँदै उल्लेखनीय आम्दानी गर्न थालेका छन्।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई जनकपुरधामका प्रमुख रविलाल शर्माले धनुषा र महोत्तरीका चार पालिकामा सञ्चालित कार्यक्रमबाट करिब १० हजार कृषक लाभान्वित भएको जानकारी दिनुभयो। उहाँका अनुसार चार पालिकामा गठन भएका ५३५ कृषक समूहमध्ये ४४० समूह सक्रिय छन्।
उहाँले आयोजनामार्फत कृषकलाई पाँच लाख रुपियाँसम्मको साना अनुदान, छ लाख रुपियाँसम्मको पूरक अनुदान, चार लाख रुपियाँसम्मको प्रवर्द्धन कार्यक्रम अनुदान तथा आवश्यकता अनुसार घरबारी पोषण बगैँचाका लागि समेत अनुदान उपलब्ध गराइँदै आएको बताउनुभयो।-गोरखापत्र




