सुजाता राई
विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले एक सयभन्दा बढी खेलाडी, अग्रज खेलकर्मी तथा खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरेको छ।



बोर्डले वार्षिक कार्यक्रमअन्तर्गत विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी, खेलक्षेत्रमा दीर्घ योगदान पुर्याएका अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई सम्मान गरेको हो।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पदकका आधारमा नगदसहित सम्मान गरिएको बोर्डले जनाएको छ। एसबिआई प्रथम दृष्टिविहीन महिला क्रिकेट प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको कोशी प्रदेश टोलीका खेलाडी प्रतिभा राई र सुनिता भुजेललाई जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो। टोलीका प्रशिक्षक उदयपुरका नरेन्द्र निरौलालाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
यसैगरी राष्ट्रिय कुस्ती, ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ, ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिप, २०औँ राष्ट्रिय जुडो, २५औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो, एनएसए कप पौडी च्याम्पियनसिप, राष्ट्रिय बुद्धिचाल, नेकोस राष्ट्रिय महिला क्रिकेट तथा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा कास्य, रजत र स्वर्ण पदक विजेता खेलाडीलाई क्रमशः जनही १५ हजार, २५ हजार र ५० हजार रुपैयाँ प्रदान गरिएको थियो। ती प्रतियोगिताका प्रशिक्षक र व्यवस्थापकलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हुन् ।

बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार राष्ट्रिय यु–२० एथलेटिक्स च्याम्पियनसिपलगायत जुनियर विधामा कास्य पदक विजेतालाई ६ हजार र रजत पदक विजेतालाई ८ हजार रुपैयाँ प्रदान गरिएको छ। दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यु–२३ सिंगल्स (क्लास–७) मा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको उनले जानकारी दिए। यसबाहेक अन्य विभिन्न विधाका पदक विजेता खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले असार २३ र २४ गतेका पूर्वनिर्धारित सरकारी कार्यव्यस्तताका कारण खेलकुद अन्तरक्रिया तथा सम्मान कार्यक्रममा छोटो समय मात्र उपस्थित हुन सकेको बताए। उनले आगामी दिनमा समय मिलाएर पुनः खेलाडीसँग अन्तरक्रिया गर्ने र उनीहरूका समस्या तथा सुझाव प्रत्यक्ष सुन्ने प्रतिबद्धता व्यक्त गरे।
बोर्डका सदस्य सचिव विप्लव घोषले खेलकुदलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्नेमा जोड दिए। खेलाडी राष्ट्रका भविष्यका कर्णधार भएकाले उनीहरूको मनोबल कुनै पनि राजनीतिक कारणले कमजोर हुन नहुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक जित्नु देशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताए। उनले खेलाडीलाई निरन्तर प्रोत्साहन गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए ।

कार्यक्रममा प्रदेश तथा राष्ट्रको खेलक्षेत्रमा योगदान पुर्याएका १३ जना अग्रज खेलकर्मीलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा भारोत्तोलनका पार्थ सारथी सेनगुप्ता, खेलकर्मी गणेशप्रसाद दुलाल, एथलेटिक्सका नारायण यादव र नारायणबहादुर प्रधान, ब्याडमिन्टनका उदयकुमार अर्याल, तेक्वान्दोका कुलबहादुर गुरुङ, टेबलटेनिसका विकेन थापा, फुटबलका मनिष तिम्सिना र भगिरथ आले, करातेका कुविरमान राई र कुशल श्रेष्ठ, जुडोका गंगाबहादुर खड्का तथा आईटीएफ तेक्वान्दोका राजेन्द्र धिमाल रहेका छन्।
त्यसैगरी मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी र अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की तथा इलामका नमिन ढकाललाई प्रदेशको खेलक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जनही ११ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
यसै कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक अर्जुन पौडेल, बोर्डका उत्कृष्ट कार्यक्रम प्रमुख विमल पोखरेल तथा कर्मचारी राजीव सुवेदी र नरकुमार बस्नेतलाई पनि जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन बोर्डका सिपी पौडेलले गरेका थिए।




