धनुषा – मुक्त हरवाचरवाको कानुनी साक्षरता अभिवृद्धि गर्दै नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्ध उपलब्ध कानुनी संरक्षणबारे व्यावहारिक ज्ञान र पहुँच विस्तार गर्ने उद्देश्यले राष्ट्रिय दलित नेटवर्क, नेपालको न्याय केन्द्र कार्यक्रम अन्तरगत आजदेखि धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको वडा नंं.५ स्थित सिमरापट्टी टोलमा मुक्त हरवाचरवा समुदायका लागि कानुनी साक्षरता शुरु भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै शहिदनगर नगरपालिका नगर उपप्रमुख सुनीता सिंहले मुक्त हरवा–चरवा समुदायका लागि सञ्चालन गरिएको यस कानुनी साक्षरता क्लिनिक अत्यन्तै समयसापेक्ष र अधिकारमुखी पहल भएको बताउनु भयो । साथै उहाँले कानुनको जानकारी बिना संविधानले प्रत्याभूत गरेका अधिकारहरूको प्रभावकारी उपयोग सम्भव नभएको कुरामा जोड दिनुभयो । उहाँले आफु शहीदनगर नगरपालिकाको न्यायिक समितिको संयोजक भएको हैसियतले अन्याय, विभेद, श्रम शोषण तथा लैङ्गिक हिंसाका घटनामा पीडित नागरिकले निष्पक्ष, सहज र पहुँचयोग्य न्याय प्राप्त गर्ने वातावरण निर्माण गर्न न्यायिक समिति सदैव प्रतिबद्ध रहने बताउनु भयो ।



राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय उपाध्यक्ष श्याम सुनारले मुक्त हरवा–चरवा समुदायको अधिकार, स्वतन्त्रता, पुनःस्थापना र न्यायमा पहुँच सुनिश्चित गर्न निरन्तर कानुनी साक्षरता, पैरवी, सामुदायिक सशक्तीकरण तथा निःशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्नका लागि स्थानिय सरकारले पहल कदमी लिनुपर्ने कुरा बताउनु भयो । साथै उहाँले कानुनी साक्षरता क्लिनिक सञ्चालनको माध्यमबाट समुदायलाई आफ्नो अधिकारको प्रयोग गर्न सक्षम बनाउन निरन्तर पहल गरिनुपर्ने कुरा बताउनुभयो । स्थानीय सरकार र समुदायसँगको सहकार्यबाट शोषणमुक्त, न्यायपूर्ण र सम्मानित जीवन सुनिश्चित गर्ने राष्ट्रिय दलित नेटवर्क, नेपालको प्रतिबद्धता निरन्तर रहने कुरामा जोड दिनु भयो ।
शहीदनगर नगरपालिकाका ९ वटै वडाहरुमा प्रशिक्षित पैरालिगल र कानुनी अधिकृत मार्फत स्थायी तथा मोबाइल कानुनी सहायता क्लिनिक सञ्चालन गरि मुक्त हरवा–चरवा समुदायलाई नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्धका कानुनी व्यवस्थाबारे जानकारी, आवश्यकताअनुसार व्यक्तिगत कानुनी परामर्श, उजुरी तथा न्यायिक सेवामा पहुँचका लागि सहजीकरण र सम्बन्धित निकायसँग समन्वय गर्दै समुदायको कानुनी सचेतना, अधिकारको प्रभावकारी उपयोग, सशक्तीकरण तथा न्यायमा दिगो पहुँच सुनिश्चित गरिने कुरा राष्ट्रिय दलित नेटवर्क, नेपालका हरवाचरवा एक्टीभिष्ट राम दयाल माँझीले बताउनु भयो ।
सो अवसरमा शहिदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा, राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय कोषाध्यक्ष जंग बहादुर सुनार र कार्यकारी निर्देशक हुकुम सार्कीले कानुनी साक्षरताको महत्व र आवश्यकताबारे चर्चा गर्नुभयो । शहिदनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुरेश कापरको अध्यक्षता सम्पन्न कार्यक्रको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका कानुनी अधिकृत सञ्जु पाँण्डेले गर्नु भएको थियो भने शहिदनगर नगरपालिका स्तरिय हरवाचरवा पैरालिग मञ्चका अध्यक्ष मन्जु महराले स्वागत गर्नु भएको थियो ।





