सुनसरी । सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार एक सूचना जारी गर्दै दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लागू गर्नुभएको हो।
प्रशासनले इटहरीको पकल्ली चोकदेखि कोशी ब्यारेज क्षेत्रसम्म आवतजावतका साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा निषेध गरेको छ।



जारी सूचना अनुसार पूर्वमा इटहरी उपमहानगरपालिकाको पकल्ली चोक, पश्चिममा कोशी गाउँपालिका-८ स्थित कोशी ब्यारेजको पुल तथा महेन्द्र राजमार्गको दायाँ-बायाँ (उत्तर-दक्षिण) दुई सय मिटरको सीमाभित्र जुनसुकै किसिमका प्रदर्शन तथा गतिविधिमा प्रतिबन्ध लगाइएको छ। शान्ति सुरक्षाको स्थिति कायम राख्न यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ।





