महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित वडा कार्यालय नजिक बजार क्षेत्रमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार मंगलबार बिहान करिब ८ः४५ बजे अन्दाजी ४० देखि ४५ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन।



घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई बर्दिबास अस्पतालको शवगृहमा राखेको जनाएको छ।
प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, कपाल कालो, उचाइ करिब ५.८ फिट, तौल करिब ५० किलो र शरीरको बनावट पातलो रहेको छ। मृतकले निलो रङको पाइन्ट लगाएका थिए।
हालसम्म शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। मृतकको पहिचानका लागि प्रहरीले सर्वसाधारणसँग सहयोगको अनुरोध गरेको छ।
मृतकलाई चिन्नुहुने वा पहिचानसम्बन्धी कुनै जानकारी भएका व्यक्तिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको ९८४८०३२८५४, ९८४८०३००९९ वा १०० नम्बरमा सम्पर्क गर्न सक्नेछन्। यसैगरी, इलाका प्रहरी कार्यालय बर्दिबासको ९८४८०९००६६ वा ९८४८०२९०१६ नम्बरमा समेत जानकारी गराउन सकिने प्रहरीले जनाएको छ।




