जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण र नागरिक सहायता लगायतका क्षेत्रमा सक्रियता बढाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साउन महिनामा विभिन्न शीर्षकमा १३४ वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन् । तीमध्ये ज्यानसम्बन्धी १, चोरीसम्बन्धी ८, आत्महत्यासम्बन्धी ६, संगठित तथा आर्थिक अपराध ३१, सामाजिक अपराध ३२, महिला तथा बालबालिकासम्बन्धी अपराध १० र सवारी ज्यानसम्बन्धी ३९ वटा घटना रहेका छन् ।



प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अपराध नियन्त्रणका लागि दैनिक गस्ती, नियमित चेकजाँच, सीमा क्षेत्रमा भारतीय समकक्षी निकायसँग समन्वय तथा अपराधको स्वरूप विश्लेषण गरी लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिए ।
उनका अनुसार साउनमा चालु मुद्दाका ८७ जना प्रतिवादी पक्राउ परेका छन् । धनुषामा चालु मुद्दातर्फ १ हजार २७९ जना प्रतिवादी पेन्डिङमा रहेकामा १४० वटा मुद्दा फर्छ्योट भएको प्रहरी विवरणमा उल्लेख छ ।
फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेख्य संख्यामा फरार व्यक्ति पक्राउ गरेको छ । साउनमा १९० जना पक्राउ गरी अदालतबाट तोकिएको ८८ वर्ष २१ दिन कैद तथा २४ लाख ३० हजार १७८ रुपैयाँ जरिवाना कार्यान्वयनका लागि सहयोग गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको संख्या साउनमा १०५ रहेको छ । तीमध्ये घरेलु हिंसासम्बन्धी उजुरी उपमहानगरपालिकाबाट ४४, नगरपालिकाबाट ४३ र गाउँपालिकाबाट १८ वटा आएका थिए । प्रहरीले ९५ वटा उजुरीमा मिलापत्र गराएको जनाएको छ ।
त्यस्तै, प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ७६८ वटा ठाडो उजुरी परेकोमा ४७५ वटा फर्छ्योट भएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ३३ उजुरीमध्ये १७ वटा फर्छ्योट भएका छन् । दुवै जोड्दा ८०१ उजुरीमध्ये ४९२ वटा फर्छ्योट भएको प्रहरीको तथ्यांक छ ।
लागूऔषध नियन्त्रणमा पनि सक्रियता
धनुषा प्रहरीले साउनमा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
प्रहरीका अनुसार साउन महिनामा १९ किलो ३९८ ग्राम गाँजा र १३५ दशमलव ४४६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) बरामद गरिएको छ । साथै विभिन्न औषधिजन्य लागूऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता न्यौपानेले लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि नियमित निगरानीसँगै सीमा क्षेत्रमा विशेष चेकजाँच र सूचनाका आधारमा कारबाहीलाई तीव्रता दिइएको बताए ।
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
साउनमा धनुषामा ८७ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ५ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् । दुर्घटनामा १३१ वटा सवारीसाधन संलग्न रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको प्रमुख कारणमध्ये चालकको कारणबाट २३, यात्रु तथा सवारको कारणबाट ४४, पैदलयात्रीको कारणबाट १ र सडकको अवस्थाका कारण १८ वटा दुर्घटना भएका छन् ।
यसै अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ६११ वटा सवारीसाधनलाई कारबाही गरी ६ लाख ८७ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
भन्सार छली र प्राकृतिक स्रोत दोहन नियन्त्रण
साउनमा अवैध भन्सार छली नियन्त्रणअन्तर्गत करिब ४१ लाख ६६ हजार १४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । सो क्रममा दुई जना पक्राउ परेका छन् । अवैध हातहतियारतर्फ भने कुनै हतियार बरामद नभएको प्रहरीको तथ्यांक छ ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ २६ वटा ट्र्याक्टर नियन्त्रणमा लिई १ लाख ३० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, अवैध मदिरा नियन्त्रणअन्तर्गत ४१५ लिटर मदिरा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ ।
विपद्मा १६१ प्रहरी परिचालन
साउनमा धनुषामा आगलागी, करेन्ट लाग्ने, पानीमा डुब्ने तथा अन्य विपद्का गरी २३ वटा घटना भएका छन् ।
विपद्का घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको प्रहरीको विवरणमा उल्लेख छ । प्रहरीले ११ जनाको उद्धार गरेको जनाएको छ ।
विपद् व्यवस्थापनमा मात्रै १६१ जना प्रहरी परिचालन गरिएको थियो । आगलागीबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
२८ हजारभन्दा बढी प्रहरी परिचालन
शान्ति सुरक्षा कायम गर्न साउन महिनामा धनुषा प्रहरीले मोबाइल, पैदल तथा ग्रामीण गस्ती, चेकिङ र पिकेटिङ लगायतका गतिविधिमा ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ ।
विभिन्न नियमित सुरक्षा ड्युटीमा गरी २८ हजार २१९ पटक जनशक्ति परिचालन गरिएको प्रहरीको तथ्यांक छ ।
बन्द, हड्ताल, चक्काजाम, आन्दोलन, मेला, पर्व तथा जात्रालगायत विशेष परिस्थितिमा समेत १ हजार ४८५ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।
नागरिक सहायता र जनचेतनामा जोड
प्रहरीले साउनमा लागूऔषध, आत्महत्या, साइबर अपराध, ट्राफिक सचेतना, बालविवाह, महिला हिंसा लगायतका विषयमा समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको छ ।
समुदाय केन्द्रित ६३ वटा कार्यक्रमबाट १ हजार ५९४ जना लाभान्वित भएको प्रहरीले जनाएको छ ।
विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रममा ४७२ जना विद्यार्थी सहभागी भएका छन् ।
प्रहरी कार्यालयको हटलाइन तथा डिआईजी कार्यालयको सम्पर्क नम्बरमा साउनमा ६ हजार ५२५ वटा कल आएको र नागरिक सहायता कक्षमा ८ हजार ८७९ सेवाग्राहीले सेवा लिएको प्रहरीको तथ्यांक छ ।
प्रवक्ता न्यौपानेका अनुसार अपराध अनुसन्धानसँगै नागरिकसँग प्रहरीको सम्बन्ध थप सुदृढ गर्ने, पीडितको अवस्था बुझ्ने र समुदायमा आधारित प्रहरी कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।
उनले भने, ‘अपराध हुन नदिन पूर्वसूचना, नियमित गस्ती र समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएका छौँ । अपराध भइसकेपछि अनुसन्धान र दोषीलाई कानुनी दायरामा ल्याउने कामसँगै पीडितमैत्री प्रहरी सेवा विस्तारमा पनि जोड दिएका छौँ ।’
अनुचित लेनदेनसम्बन्धी तीन वटा निवेदनमा मिलापत्र गराइएको र १३ लाख ८५ हजार रुपैयाँ बराबरको रकम तथा घरजग्गा फिर्ता गराउन सफल भएको प्रहरीको विवरणमा उल्लेख छ ।
प्रहरीले आगामी दिनमा सीमा अपराध, लागूऔषध, चोरी, सवारी दुर्घटना, महिला तथा बालबालिकामाथि हुने हिंसा र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित निगरानी तथा समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ ।




