महोत्तरी – नेपाल प्रेस युनियन महोत्तरीको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार बर्दीबासमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गरिएको छ।नेपाल प्रेस युनियन महोत्तरीको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता सामाजिक दायित्वसँग जोडिएको पेसा भएकाले समाचारमा व्यक्तिगत सम्बन्ध, नातागोता, विचार र आस्था हाबी हुन नहुने बताउनुभयो।
पत्रकारले तथ्य, समाज र जनसरोकारका विषयलाई केन्द्रमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
बर्दीबासको पछिल्लो विकासलाई विगतसँग तुलना गर्दै पूर्वअध्यक्ष झाले पत्रकारले वर्तमान अवस्थाको मात्र नभई सम्बन्धित क्षेत्रको इतिहाससमेत बुझ्नुपर्ने बताउनुभयो। चार दशकअघिको बर्दीबास र अहिलेको बर्दीबासमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै उहाँले विकाससँगै आसपासका क्षेत्रमा सामाजिक तथा आर्थिक परिवर्तन भए–नभएको विषयमा पनि पत्रकारले खोजी गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार बर्दीबास अहिले मधेशको महत्वपूर्ण ‘कनेक्टिभिटी हब’ का रूपमा विकास भएको छ। तर, त्यसको प्रभाव आसपासका सबै क्षेत्रमा समान रूपमा परेको छ कि छैन भन्ने विषय महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।




औरही, भङ्गाहा, गौशाला तथा माइस्थानलगायत क्षेत्रमा भएको विकास र त्यसको सामाजिक प्रभावबारे पत्रकारले गहिरो अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो।झाले बर्दीबासलाई केन्द्रमा राखेर महोत्तरीसँगै सिन्धुली र सर्लाहीको पत्रकारितालाई समेत बुझ्न सकिने बताउनुभयो। मधेशका आठवटै जिल्लाको पत्रकारिता बुझ्न बर्दीबासको सामाजिक, सांस्कृतिक तथा जनसाङ्ख्यिक अवस्था र त्यसमा आएको परिवर्तनलाई नजिकबाट नियाल्न आवश्यक रहेको उहाँले बताउनुभयो।

पछिल्ला तीन–चार दशकमा बर्दीबासको जनसाङ्ख्यिक स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उहाँले बसाइँसराइ, रोजगारी, जग्गा अधिग्रहण, मुआब्जा, सम्पत्ति र नागरिकका आकाङ्क्षाजस्ता विषय पत्रकारिताका महत्वपूर्ण मुद्दा बन्नुपर्ने बताउनुभयो।सडक तथा पूर्वाधार निर्माणलाई मात्र विकासको सूचक मान्न नहुने भन्दै उहाँले विकासका कारण विस्थापित तथा पछाडि परेका समुदायको अवस्थाबारे पनि पत्रकारले प्रश्न उठाउनुपर्ने धारणा राख्नुभयो।

मधेशमा पूर्वाधार विस्तार भए पनि त्यसको लाभ सबै समुदायसम्म पुगेको छ कि छैन भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँले बताउनुभयो। बर्दीबास–सिन्धुली बीपी राजमार्ग निर्माण भए पनि त्यस आसपासका मुसहरलगायत विपन्न समुदायको जीवनस्तरमा अपेक्षित परिवर्तन आएको छ कि छैन भन्ने विषयमा खोजी गर्नुपर्ने उहाँको भनाइ थियो।कार्यक्रममा प्रेस युनियन महोत्तरीले हरेक साधारणसभामा जिल्लाबाट उत्कृष्ट पत्रकार छनोट गरी सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्दै आएको जानकारी दिइयो।

यस वर्षको उत्कृष्ट पत्रकार पुरस्कारका लागि ‘सौर्य दैनिक’का महोत्तरी समाचारदाता विशाल बस्नेतको नाम सिफारिस गरिएको आयोजकले जनाएको छ। युनियनले आगामी दिनमा पनि उत्कृष्ट पत्रकार सम्मानलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा समाजसेवी पोषण थापा, बर्दीबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कार्कीलगायत जिल्लाका पत्रकारको सहभागिता थियो।




