महोत्तरी – सफल जीवन निर्माणका लागि आवश्यक जीवन उपयोगी सीपसम्बन्धी चौध दिन पढाए पछि आज एक दिने अभ्यास तथा प्रदर्शनी कार्यक्रम महोत्तरीको औरही नगरपालिका–१ स्थित श्री जनता आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औरही नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष सुशील साह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। Save the Children र सामुदायिक विकास पैरवी मञ्च नेपाल (CDAFN) को सहकार्य तथा औरही नगरपालिकाको समन्वयमा सञ्चालित जीवन उपयोगी सीप (LS4S) अन्तर्गतको INSPIRE परियोजनाले कार्यक्रम आयोजना गरेको हो।




कार्यक्रममा विद्यार्थीहरूले सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग, यसको दुरुपयोगबाट उत्पन्न हुन सक्ने समस्या र त्यसबाट बच्ने उपायलगायतका विषयमा आफूले सिकेका ज्ञान, सीप तथा व्यवहारलाई विभिन्न सामग्री र प्रस्तुतिमार्फत प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले कार्यक्रमको अन्त्यमा सामाजिक सञ्जालको दुरुपयोगबाट हुन सक्ने नकारात्मक प्रभाव र जोखिमबारे सचेतना फैलाउने उद्देश्यले लघु नाटकसमेत प्रस्तुत गरेका थिए। नाटकमार्फत सामाजिक सञ्जालको गलत प्रयोगबाट उत्पन्न हुन सक्ने समस्या, त्यसबाट बच्ने उपाय तथा प्रविधिको मर्यादित र जिम्मेवार प्रयोग गर्नुपर्ने सन्देश दिइएको थियो।नाटक प्रस्तुत गर्ने विद्यार्थी भाइबहिनीहरूको सिर्जनशीलता र सक्रिय सहभागिताको कदर गर्दै कार्यक्रमको अन्त्यमा उनीहरूलाई आयोजकका तर्फबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार मण्डलले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी दैनिक जीवनमा आइपर्ने चुनौती सामना गर्न सक्ने, सही निर्णय लिन सक्ने र समाजप्रति जिम्मेवार नागरिक बन्न सक्ने सीप प्रदान गर्नु विद्यालयको दायित्व भएको बताउनुभयो।“विद्यार्थीले किताबमा पढेको कुरा व्यवहारमा प्रयोग गर्न र आफ्नै सिर्जनशीलतामार्फत प्रस्तुत गर्न पाउँदा सिकाइ अझ प्रभावकारी हुन्छ,” उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको दुरुपयोगबाट हुने जोखिमबारे विद्यार्थीहरूले नाटक तथा विभिन्न प्रस्तुतिमार्फत दिएको सन्देश समाजका लागि पनि महत्वपूर्ण छ।”

कार्यक्रमका प्रमुख अतिथि तथा औरही नगरपालिका–१ का कार्यवाहक वडा अध्यक्ष सुशील साहले जीवन उपयोगी सीप विद्यार्थीको व्यवहारिक ज्ञान र क्षमता विकासका लागि महत्वपूर्ण रहेको बताउनुभयो। सामाजिक सञ्जालको सही प्रयोगले ज्ञान र अवसरको ढोका खोल्ने भए पनि दुरुपयोगले विद्यार्थीको पढाइ, व्यवहार र भविष्यमा नकारात्मक असर पार्न सक्ने भएकाले विद्यालय तहबाटै सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो।
शिरीष न्युज,खबर दर्पण पत्रीका महोत्तरी जिल्ला प्रमुख र नेपाल प्रेस युनियन महोत्तरी शाखाका सहसचिव धर्वेन्द्र कुमार यादवले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढेकाले विद्यार्थीलाई यसको सकारात्मक प्रयोगबारे जानकारी गराउँदै सम्भावित जोखिमबाट जोगाउन विद्यालय, अभिभावक र समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

“सामाजिक सञ्जाल आफैंमा नराम्रो होइन, यसको प्रयोग कसरी गरिन्छ भन्ने महत्वपूर्ण कुरा हो। सही प्रयोगले विद्यार्थीलाई ज्ञान, सूचना र अवसरसँग जोड्छ भने दुरुपयोगले उनीहरूको पढाइ र सामाजिक व्यवहारमा नकारात्मक असर पार्न सक्छ,” यादवले भन्नुभयो।

INSPIRE परियोजनाका कार्यक्रम संयोजक निकेश साहले जीवन उपयोगी सीप विद्यार्थीको सफल र सुरक्षित भविष्य निर्माणको आधार भएको बताउनुभयो। विद्यार्थीलाई समस्या समाधान, सही निर्णय, सकारात्मक सोच, सामाजिक व्यवहार तथा प्रविधिको जिम्मेवार प्रयोगसम्बन्धी सीप प्रदान गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो।

“विद्यार्थीले आफैं सिक्ने, अभ्यास गर्ने र सिकेको कुरा समुदायसमक्ष प्रस्तुत गर्ने अवसर पाउँदा सिकाइ अझ प्रभावकारी हुन्छ,” साहले भन्नुभयो, “सामाजिक सञ्जालको दुरुपयोगबाट हुने जोखिमबारे विद्यार्थीहरूले लघु नाटक तथा विभिन्न प्रस्तुतिमार्फत दिएको सन्देशले उनीहरूमा चेतना र आत्मविश्वास बढाएको छ।”
विद्यालयकी शिक्षिका पूजा कुमारी चौधरीले जीवन उपयोगी सीपसम्बन्धी कार्यक्रमले विद्यार्थीमा किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुगेको बताउनुभयो। विद्यार्थीले आफैं सिक्ने, अभ्यास गर्ने र सिकेको कुरा अरूलाई प्रस्तुत गर्ने अवसर पाउँदा आत्मविश्वास तथा नेतृत्व क्षमतामा समेत विकास हुने उहाँको भनाइ थियो।

चारदिने कार्यक्रममा विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने चुनौती सामना गर्न, सही निर्णय लिन, समस्या समाधान गर्न, सकारात्मक सोच विकास गर्न तथा प्रविधिको जिम्मेवार प्रयोग गर्न आवश्यक विभिन्न जीवन उपयोगी सीपसम्बन्धी अभ्यास गराइएको थियो।
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा KOICA, Save the Children, CDAFN तथा औरही नगरपालिकाको सहयोग रहेको थियो।

कार्यक्रममा शिरीष न्युज,खबर दर्पण पत्रीका महोत्तरी जिल्ला प्रमुख र नेपाल प्रेस युनियन महोत्तरी शाखाका सहसचिव धर्वेन्द्र कुमार यादव, सञ्जीव सिंह, ललितालगायतको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार जीवन उपयोगी सीपसम्बन्धी यस्ता अभ्यास तथा प्रदर्शनीले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता, नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व तथा व्यवहारिक ज्ञानको विकास गर्नुका साथै विद्यालयको सिकाइलाई समुदायसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।






