जनकपुरधाम । मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका ७६ जना लेखा अधिकृत तथा लेखापालहरूको सरुवा गरेको छ ।
प्रदेशमा आर्थिक सुशासन कायम गर्न, प्रशासनिक दक्षता अभिवृद्धि गर्न र लामो समयदेखि एउटै कार्यालयमा रहेर कर्मचारीहरूले बनाएको एकाधिकार अन्त्य गर्न सरुवाको निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका ७६ जना लेखा अधिकृत तथा लेखापालहरूको सरुवा गरिएको हो ।



मधेसका अर्थमन्त्री युवराज भट्टराईले २ वर्षभन्दा बढी अवधिदेखि एउटै कार्यालयमा बस्दै आएका र निरन्तर आकर्षक मानिएका अड्डा वा कार्यालयहरूमा कार्यरत सबै कर्मचारीलाई यस सरुवा प्रक्रियामा समावेश गरिएको बताए ।
उनले भने, ‘विगत लामो समयदेखि एउटै अड्डामा खुट्टा गाडेर बस्ने र निश्चित कार्यालयमा मात्रै सीमित हुने प्रवृत्तिले वित्तीय सुशासनमा चुनौती खडा गरेको थियो । यस किसिमको बेथिति अन्त्य गर्न र प्रशासनिक सुधारको पहल स्वरुप यो कार्य थालिएको हो ।’
विगतका दिनहरूमा जनशक्ति अभावको बहानामा एउटै कर्मचारीलाई ३ देखि ४ वटासम्म कार्यालयको जिम्मेवारी सुम्पिने परिपाटी कायम रहेकोमा त्यसलाई पूर्ण रूपमा खारेज गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब उप्रान्त रिक्त स्थानहरूमा ‘एक कर्मचारी, एक कार्यालय’ को नीति कडाइका साथ लागू गरिनेछ ।
अर्थ मन्त्रालय मातहत वा अन्य निकायहरूमा कुनै पनि लेखा अधिकृत वा कर्मचारीले एकभन्दा बढी कार्यालयको जिम्मेवारी सम्हालिरहेको अवस्था भए ती सबैको पुनरवलोकन गरी तत्काल एउटै कार्यालयको जिम्मेवारीमा सीमित गरिने भएको छ ।
मन्त्रालयका अनुसार सरुवा आदेशलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरुवा भएका कर्मचारीहरूले ७ दिनभित्र साविक कार्यालयबाट रमाना लिई नयाँ पदस्थापना भएको कार्यालयमा हाजिर भइसक्नुपर्ने छ ।
तोकिएको समयावधिभित्र रमाना नलिई बस्ने कर्मचारीको साबिक कार्यालयको खाता सञ्चालन अधिकार रोक्का गर्न प्रदेश कोष नियन्त्रक कार्यालयलाई निर्देशन दिएको मन्त्री भट्टराईको भनाइ छ । उनका अनुसार सार्वजनिक प्रशासनलाई थप पारदर्शी र जनउत्तरदायी बनाउने क्रममा सरुवा भएका कर्मचारीहरूको सूची मन्त्रालयको आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरिने भएको छ ।
यस कदमले प्रदेशको वित्तीय प्रशासनमा स्वच्छता, पारदर्शिता र उच्च कार्यसम्पादनस्तर कायम गर्न ठुलो सहयोग पुग्ने अर्थमन्त्री भट्टराईले जनाए।




